नयाँ बानेश्वरस्थित संगम स्वीट्सको पसल र गोदाम घरमा सिलबन्दी


काठमाडौं, असोज १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको मिलनचोकमा रहेको संगम स्वीट्सको गोदाम घरमा शिल गरेको छ । विभागले अनुगमनका क्रममा अखाद्य वस्तु बिक्रिवितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि गोदामघरमा शिलबन्दी गर्नुका साथै बानेश्वर चोकमा रहेको होटलको विक्रिवितरणमा समेत प्रतिबन्ध लगाएको छ ।

झापाका संगम शर्माले सञ्चालन गरेको संगम स्वीट्सले कपडा चम्काउन प्रयोग हुने प्रतिवन्धीत हाइड्रो ए वान भन्ने केमिकल मिठाईमा प्रयोग गरेको पाईएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले बताएका छन ।

मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको विभागका प्राविधिक सहायक नवराज आचार्यले बताएका छन । त्यस्तैगरी मिठाइमै ८ वर्ष पुरानो प्रयोग मिती सकिएको कोकोनट पाउडर समेत प्रयोग गरिएको पाईएको छ ।

संगम स्विट्सले प्रयोग गर्ने घ्यु र तेलमा पोलारिटिको मात्र अत्याधिक रहेको, मैदा लगायत अन्य खाद्य बस्तुमा उत्पादन मिति उल्लेख नभएको, सरसफाईमा वास्ता नगरिएको भेटिएको खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताएका छन ।

उनका अनुसार संगम स्वीट्सका संचालक संगम शर्मालाई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिइएको छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको थियो ।

यसमा तपाइको मत