सुनको मूल्य ५ महिना यताकै उच्च


काठमाडौं, असोज १७ । नेपाली बजारमा सुनको मूल्य ५ महिना यताकै उच्च भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैँया र चाँदी प्रतितोला १५ रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ५९ हजार रुपैँया, तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैँया र चाँदी प्रतितोला ७ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ५८ हजार १ सय रुपैँया, तेजावी सुन प्रतितोला ५७ हजार ८ सय रुपैँया र चाँदी प्रतितोला ७ सय ३५ रुपैँयामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मुल्यवृद्धि र नेपालमा अमेरिकी डलरको सटही भाउ बढेकाले सुनको मुल्य बढेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताएका छन । उपाध्यक्ष शाक्यले सुनमा भएको मुल्यवृद्धिसँगै खपतमा कमी आएको जानकारी दिएका छन ।

शाक्यका अनुसार गत वैशाखमा सुनको मुल्य यो वर्षकै उच्च प्रतितोला ५९ हजार ४ सय रुपैँया पुगेको थियो । र सबैभन्दा कम असारमा ५५ हजार ६ सय रुपैँया थियो । शाक्यका अनुसार अघिल्लो महिनासम्म बजारमा प्रतिदिन ४० देखि ४५ किलो सुनको माग रहेकामा यो महिना ३० देखि ३५ किलो माग रहेको छ । 

यसमा तपाइको मत