सिंहदरबार भित्र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा माग, बाहिर गृमन्त्रीको राजीनामा माग


काठमाडौं, असोज १८ । महिला हिंसा रोक्न र शान्ति सुरक्षा तथा अमनचैन कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा माग गरिएको छ।

बिहीबार बिहान निर्मलाका निम्ति न्याय माग्दै निषेधित क्षेत्र समेत रहेको सिंहदरबारको गेटमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको छ भने सत्तारुढ दल नेकपाकै विद्यार्थी संगठनले आइजिपीको राजीनामा माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। संगठनले आइजिपीलाई तत्काल बर्खास्त गर्न समेत माग गरेको छ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा र रञ्जित तामङको नेतृत्वमा नेतृत्वमा गएको टोलीले गृह मन्त्रालयमा आइजिपीको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाउँदै गर्दा बाहिर भने गृहमन्त्रीकै राजीनामा माग गरिएको छ।

नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएका छन ।

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनालको राजीनामा माग गरेका हुन् ।

यता निर्मलाका निम्ति न्याय अभियानका समर्थकहरुले भूमिगत शैलीमा सिंहदरबारको गेटमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

बलात्कारीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै उनीहरुले सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गर्नुका साथै धर्ना समेत दिएका छन्।​

यसमा तपाइको मत