चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न सरकारलाई आदेश


काठमाडौं, असोज १८ । संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न सरकारलाई आदेश दिएको छ।

बिहीबार बसेको समितिको बैठकले चिनीको मूल्यमा एकरुपता नदेखिएको र कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको भन्दै सरकारलाई न्युनतम मूल्य तोक्न निर्देशन दिएको हो।

लेखा समितिले बजारमा चिनीको अवस्थाबारे बुझ्न सांसद लेखराज भट्टको संयोजकत्वमा एक समिति समेत बनाएको छ। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ।

केही समयअघि चिनी उद्योगीहरुको दबाबमा सरकारले चिनी आयातमा कोटा तोकेपछि बजारमा चिनीको कृत्रिम अभाव देखिनुका साथै मूलय ह्वत्तै बढेको छ। बजारमा अहिले प्रतिकेजी ८५ रुपैयाँ सम्ममा चिनी किन्न उपभोक्ता बाध्य छन्।

व्यवसायीहरुले उखु किसानको भुक्तानी दिन चिनीको आयात रोक्नुपर्ने माग गरेका थिए। उद्योगीहरुको माग बमोजिम चिनी आयातमा कडाई गर्न भन्सार दर ३० प्रतिसतसम्म वृद्धि गरिएको छ भने आयातको निश्चित कोटा तोकिएको छ।

तर, किसानले उखुको भुक्तानी पाउन सकेका छैनन्।

यसमा तपाइको मत