राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘शिखर सर्वोच्च शताब्दी सम्मान’बाट विभूषित गरिने


काठमाडौं, असोज २५ । शिखर नेपालको १५ औं वार्षिक उत्सवको अवसर पारेर फुलारा लिटरेचर फाउण्डेशन नेपालको संयोजकत्वमा असोज २६ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शिखर सर्वोच्च शताब्दी सम्मानबाट विभूषित गरिने भएको छ ।

अायोजक संस्थाका अनुसार राष्ट्रकवि घिमिरे लगायत कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखी यहाँसम्म पुस्तकका लेखक भिष्मराज फुलारा, वरिष्ठ वृत्तचित्र सम्पादक लव प्याकुरेल, गीतकार गणेश सुवेदीआदिलाई सम्मान प्रदान गरिने भएको हो ।

शिखर नेपालका अध्यक्ष शेखर खनालले सम्मान कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, ‘व्यक्तिमा अन्तरनिहित दक्षता, क्षमता र योगदानको कदरले मानिसलाई थप उत्तरदायी बनाउँछ, सामाजिक सेवाभाव प्रति उत्प्रेरणा जगाउँछ र सकारात्मक उद्देश्य प्रति अठोट र साहस बढाउँछ’, यो अभिप्राय पुरा गर्न पनि सम्मानको आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्डको हल, भृकुटीमण्डपमा अायोजना हुने कार्यक्रमलार्इ थप उर्जा र हौशला प्रदान गर्न प्रमुखअतिथि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव हुने पनि संस्थाले जानकारी दिएको छ ।

यस अवसरमा नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखी यहाँसम्म पुस्तक विमोचन हुने पनि बताइएको छ ।

कार्यक्रमको प्रायोजन एशियन इन्टरनेशनल एडुकेशन तथा माइग्रेसन प्रा.ली. र टेन्सवर्ग वियरले गरेको छ भने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, नेपाल चिया, नेपाल पर्यटन बोर्ड, सानिमा बैंक, अतिथि एन्टरनेशनल कन्सल्टेन्सी, अक्वा पूर्णश्री र रिल्याक्स क्याफे एण्ड रेष्टोले सहयोग गरेको अायोजक संस्थाले बताएको छ ।

यसमा तपाइको मत