७० बर्षभन्दा बढी उमेरका डाक्टर हुने भए बेरोजगार !


काठमाडाैं, कार्तिक १६ । अोम हस्पिटल एण्ड रिसर्च सेन्टरले अबदेखि ७० बर्षभन्दा माथि उमेरका डाक्टरहलाई काममा नलगाउने भएको छ ।

संचालक समितिका अध्यक्ष उद्धव पौडेलको अध्यक्षतामा १५ कार्तिकमा बसेको बैठकले विशषज्ञता हाशिल गरेका युवा र दक्ष चिसित्सकको आकर्षण बढाउन र तिनलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरेको जनाएको छ । अस्पतालले चिकित्सक कार्यविधि २०७५ पनि कार्यान्वयनमा ल्याइएको बताएको छ ।

प्रवन्ध संचालक बाबुकाजी कार्कीद्वारा हस्ताक्षरित प्रेस नोटमा भनिएको छ, “अाेम हस्पिटलमा एमडी, एमसीएच अध्ययन सम्पन्न गरि विशेषज्ञता हासिल गरेका युवा र दक्ष चिकित्सकको आकर्षण बढाउन, तिनलाई प्रोत्साहित गर्न र हस्पिटलले प्रवाह गर्ने स्वास्थ्य सेवालाई आधुनिक, प्रभावकारी र प्रविधि मैत्री बनाउन ‘ओम हस्पिटल चिकित्सक कार्यविधि २०७५’ कार्यान्वयनमा ल्याइएको छ । यस कार्यविधिअनुसार अब हस्पिटलले विश्वका अधिकांश देशले अभ्यास गरे सरह ७० वर्ष उमेर पुगेका चिकित्सकलाई सेवामा प्रवेश नदिने तथा हस्पिटलमा कार्यरत चिकित्सकलाई ७३ वर्ष उमेर पुगेको अवस्थामा अनिवार्य अवकाशको व्यवस्था गरिएको छ ।”

ओम अस्पतालले योसँगै सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त, अपांग मैत्री एवं हेलिप्याड सुविधा सहितको १० तल्लाको भवन पनि बनाउने भएको छ । हस्पिटललाई उच्च प्रविधियुक्त बनाउँदै लैजाने क्रममा आगामी तीन महिना भित्र संचालनमा ल्याउने गरी एमआरआर्इ र क्याथ ल्याब जडान गर्ने प्रकृया प्रारम्भ गरिएको पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।

ओम अस्पतालका अध्यक्ष पौडेलले समयानुकूल अस्पताललाई स्तरउन्नति गर्नु र जनस्वास्थ्यलाई विशेष ख्याल राख्नु अस्पतालले कर्तव्य ठानेको बताए । उनले भने, ‘जनताको आधारभूत सेवामा कटिवद्ध रहँदै गुणस्तरीय सेवा दिनु ओम अस्पतालको मूल ध्येय हो । ७३ वर्ष उमेर पुगेको अवस्थामा अनिवार्य अवकाशको व्यवस्था र ३० बर्षभन्दा माथिकालाई विशेष अवसर यसै उद्देश्यसँग अन्तरसंबन्धित हो ।’

यसमा तपाइको मत