सेमेस्टरलाई प्रभावकारी बनाउन अनुदान


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान थालेको हो ।

त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले उक्त प्रणाली व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि क्याम्पसलाई प्रोत्साहन दिन थालिएको बताएका छन । त्रिविले भौतिक पूर्वाधारविना स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेकाले आलोचना हुँदै आएको थियो । स्नातकोत्तर तहमा विसं २०७१ बाट केन्द्रीय क्याम्पसमा र विसं २०७२ बाट उपत्यकाका आङ्गिक क्याम्पसमा उक्त प्रणाली शुरु गरेको त्रिविले यस वर्षदेखि देशभरि नै लागू गरेको छ । सेमेस्टर प्रणाली सञ्चालन भए पनि शैक्षिक क्यालेण्डरअनुसार समयमा पढाइ, परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित हुने गरेको छैन ।

त्रिविले ‘उच्च शिक्षा सुधार परियोजना’मार्फत सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने भएको हो । कार्यकारी प्रमुख पोखरेलले प्राध्यापकलाई तालीमदेखि भौतिक पूर्वाधारसम्मका लागि हरेक वर्ष सेमेस्टर पढाउने आङ्गिक क्याम्पसलाई रु एक लाखदेखि रु १५ लाखसम्म उपलब्ध गराउने जानकारी दिएका छन।

यसमा तपाइको मत