खुट्टा नकमार्इ सामाजिक सुरक्षा योजना लागुहुने


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले मजदूरको जीवनमा ठूलो परिवर्तन ल्याउने बताएका छन ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियनको ३८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्छ, सरकारले खुट्टा कमाउँदैन ।” उनले मजदूरको हकहित रक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन । पर्यटनको विकासबिना मुलुकको विकास हुन नसक्ने बताउँदै उनले समग्र पर्यटन क्षेत्रका विकासका लागि सङ्घीय पर्यटन ऐन, २०७५ को मस्यौदा तयार भइसकेको जानकरी दिएका छन । आउँदो संसद् अधिवेशनबाट उक्त ऐन पारित हुने उनको भनाइ थियो ।

उक्त ऐन जारी भएपछि क्यासिनो क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गर्दै उनले क्यासिनोलाई व्यवस्थित गर्न खोज्दा कानूनी अड्चन आइपरेको गुनासो गरेका छन । मन्त्री अधिकारीले रोयल्टी नबुझाउने क्यासिनोलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिइने बताए । सीमा क्षेत्रमा क्यासिनो सञ्चालनको सम्भावना औँल्याउँदै उनले ती क्षेत्रलाई ‘क्यासिनो हव’ का रुपमा विकास गर्न सकिने बताएका छन । युनियनका संस्थापक अध्यक्ष हरि शर्माले आफ्ना हकअधिकारका लागि मजदूरले सङ्गठित भएर आवाज उठाउनुपर्नेमा जोड दिँदै सरकारले पनि मजदूरका माग सम्बोधन गर्नुपर्ने बताए ।

यसमा तपाइको मत