नेपाल र म्यानमार बीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता


काठमाडौं । नेपाल र मित्र राष्ट्र म्यानमार बीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका थिए ।

दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आएकी थिइन ।

यसमा तपाइको मत