नेपाल बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सुरु


काठमाडाैं । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा सुरु हुँदैछ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको हो । बैठक सोमबार र मंगलबार दुई दिनसम्म चल्नेछ ।

नेपाल–बङ्गलादेशबीचको ‘संयुक्त कार्य समूह’ले बैठक आयोजना गरेको हो । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइपुगेका  छन् । नेपालकोतर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नेछन् । सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक तय भएको छ ।

बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बङ्गलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्नेछन्। बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ । नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे बैैठकमा छलफल हुनेछ ।

ऊर्जामन्त्री वर्षमान पुनले गत भदौमा गरेकाे बङ्गलादेश भ्रमणमा दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

यसमा तपाइको मत