राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया द्धारा पूर्व राष्ट्रपति बुसप्रति सम्मान प्रकट


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पूर्व राष्ट्रपति जर्ज एचडब्लु बुसप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

९४ वर्षको उमेरमा गएको शुक्रबार अबेर (नेपाली समय अनुसार शनिबार बिहान) निधन भएका अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एचडब्लु बुसको पार्थिव शरीर राजकीय सम्मानकासाथ हुने औपचारिक फ्युनेरलका लागि टेक्सास, ह्युस्टनबाट सोमबार बेलुका राजधानी वासिङ्टन डिसीको रोटुण्डामा लगिएको छ ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले रोटुन्डा गएर श्रद्धाञ्जली अपर्ण गरेका हुन् । सिनियर बुसको पार्थिव शरीर बुधबारसम्म रोटुण्डामा रहनेछ । बुधबार औपचारिक फ्युनेरल हुँदैछ र त्यहाँ सर्वसाधारणले पनि उनीप्रति सम्मान प्रकट गर्न पाउने छन् ।

ट्रम्पको बुस परिवारसँग तनावको अवस्था छ तर उनी फ्युनेरलमा सहभागी हुने छन् । बुधबार फ्युनेरल भएपछि सिनियर बुसको पार्थिवशरीर टेक्सासमा उनकी श्रीमती बारबरा बुसको आडमै गाडिने छ ।

सिनियर बुसको पार्थिव शरीरसहितको कफिन एयर फोर्स वानको (जसलाई अस्थायी रुपमा स्पेशल एयर मिसन ४१ को रुपमा चिनिएको छ) विमानले वासिङ्गटन लगएको हो । त्यसअघि टेक्सासमा सिनियर बुसलाई २१ तोपको सलामी दिइएको थियो ।

जर्ज एचडब्लु बुस सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति रहे । उनका छोरा जर्ज डब्लु बुस अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए ।

यसमा तपाइको मत