अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुहुँदैन : महानिरीक्षक खनाल


काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन ।

एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन( २०७५’ सम्बन्धी गोष्ठीमा उनले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताएका हुन । “अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,”–उनले भने ।

महानिरीक्षक खनालले गत महीना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास व्यक्त गरेका छन । उनले प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने स्पष्ट पारेका छन । “९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ,”– महानिरीक्षक खनालले भने ।

उनले प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको बताएका छन ।

यसमा तपाइको मत