प्रतिष्ठानले पूर्णता नपाउँदा प्राज्ञिक काम प्रभावित


काठमाडौं । मुलुुकको महत्वपूर्ण प्राज्ञिक निकाय नेपाल प्रज्ञा– प्रतिष्ठान तीन महीनादेखि पूर्ण नहुँदा वार्षिक योजना र अनुसन्धानका काम प्रभावित भएको छ ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले पदाधिकारी रिक्त भएको एक महीनापछि गत असोज २१ मा कुलपति र सदस्य सचिवको नियुक्ति गरे पनि उपकुलपतिलगायत प्राज्ञसभा सदस्य, प्राज्ञ परिषद् सदस्य र प्रतिष्ठानको सेवा आयोग रिक्त रहेका छन । कुलपतिमा पुनः गङ्गाप्रसाद उप्रेती र सदस्य सचिवमा जगत्प्रसाद उपाध्यायलाई नियुक्तिपछि दैनिक प्रशासनिकबाहेक नीतिगत काम भएको छैन । ‘एकेडेमी’ को प्राज्ञ सदस्य बस्ने कार्यकक्ष सरसफाइ र रङरोगन गरी चिटिक्क बनाइए पनि तीन महीनादेखि रिक्त हुँदा आफूहरुले पनि पर्याप्त काम नपाएको कर्मचारी बताउँछन् ।

प्रतिष्ठानको कार्यकारी निकाय प्राज्ञ परिषद्लाई प्राज्ञसभाका निर्णय कार्यान्वयन गर्ने, सभाद्वारा दिइएका निर्देशन पालन गर्ने, गराउने तथा प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेटको सञ्चालनको जिम्मेवारी रहेको छ। पैँतीस सदस्यीय हुने प्राज्ञसभा प्रतिष्ठानको सर्वोच्च निकाय मानिन्छ । यसले ११ सदस्यीय प्राज्ञ परिषद्लाई मार्गदर्शन र निर्देशन दिँदै वार्षिक नीति योजना तथा कार्यक्रम स्वीकृत गर्न गर्छन। यस्तै विद्वत्वृत्ति, सम्मान, प्रज्ञामानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान, उपयुक्त व्यक्ति वा संस्थालाई कदर सम्मान वा पुरस्कारको व्यवस्था गर्ने तथा आवश्यक नियम बनाउने काम प्राज्ञ सभाले गर्ने गर्दछ ।

यसमा तपाइको मत