रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटन ल्याइने


काठमाडौं । रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो ।

ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र पार्ने काम), चा पूजा(माटो पूजा) र पीठ पूजा(पछाडिको पूजा) को साइत ज्योतिषले निकालेका हुन् । देवता पाटन ल्याएपछि माघ ३ गते स्नान पर्व, माघ ११ गते यचिक त्यगु, माघ २९ गते चा पूजाको साइत निस्केको छ ।

फागुनको १८ गते पीठ पूजाको साइत निस्केको छ । शाखाका प्रमुख शैलेन्द्र पौडेलले भने, “सबै सर्वसञ्चालनका लागि हामीले आवश्यक तयारी शुरु गरिसकेको छौं ।” ज्योतिष कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलवजारस्थित सोह्खुट्टे पाटीमा बसेर साइत हेर्नुभएको हो । साइत हेर्ने परम्परामा भने धेरै परिवर्तन आइसकेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए ।

यसमा तपाइको मत