इन्डोनेसियाको निर्माणाधीन परियोजनामा विद्रोहीको आक्रमण, २४ कामदारको मृत्यु


इन्डोनेसियाको एक निर्माण क्षेत्रमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २४ जना कामदारको ज्यान गएको छ । इन्डोनेसियाका पूर्वी प्रान्त पापुएको भएको घटनामा एक प्रहरीको पनि ज्यान गएको छ ।

आइतबार भएको घटनाको छानबिन भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रान्तको दुर्गम पहाडी क्षेत्रमा उनीहरुले बाटो तथा पुल बनाइरहेका कामदारमाथि आक्रमण भएको हो ।

पृथकतावादी लडाकुले आक्रमण गरेको प्रहरीको दाबी छ । पापुएमा दशक भन्दा लामो समयदेखि स्वतन्त्रताको मागसहित हिंसात्मक गतिविधि हुँदै आएको छ । पृथकतावादी समूहले आफ्नो स्थापना वा स्वतन्त्रता दिवसको रुपमा डिसेम्बर १ मा कार्यक्रम गरिरहेका थिए ।

निमार्ण कम्पनी पिटी स्ताका कार्याका एक कामदारले त्यो समूहको तस्बिर लिएको र त्यसपछि आक्रोशित भएका लडाकुले आक्रमण गरेको सेनाका प्रवक्ता कर्णेल मुहम्मद एइदीले बताएका छन् ।

कामदारहरुको शव उनीहरुले निर्माण गरिरहेको पुल नजिकै भेटिएको उनले बताए । घटनास्थलमा प्रहरी र सेनाको टोली सोमबार पुगेको थियो । त्यसक्रममा गोली हानाहान हुँदा एक सुरक्षाकर्मीको ज्यान गएको छ ।

पापुए सन् १९६१ मा नेदरल्याण्डसबाट स्वतन्त्र भएको थियो । तर त्यसको ८ वर्षपछि इन्डोनेसियामा गाभियो । त्यसयता त्यहाँ एक समूहले स्वतन्त्रताको माग गर्दै सैन्य गतिविधि गर्दै आएको छ ।

यसमा तपाइको मत