गरिबी निवारण कोषमा कार्यरत सबै कर्मचारीको करार अन्त्य


काठमाडौं । सरकारले गरिबी निवारण कोषमा उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति गरे लगत्तै कोषमा कार्यरत सबै कर्मचारीको करार अन्त्य गरेको छ । विश्व वैंकको अनुदानबाट तलब खाइरहेका करिब ६० जना कर्मचारीलाई अब विश्व वैंकको परियोजना सकिएपछि अवकाशको पत्र थमाएको हो ।

भ्रष्टाचार र यौनकाण्डमा मुछिएका यसअघिका पदाधिकारीले राजीनामा दिएपछि रिक्त रहेको उपाध्यक्षमा गत साता सरकारले निर्मलकुमार भट्टराई र कार्यकारी निर्देशकमा नेपाल सरकारकै सहसचिव छबी रिजाललाई नियुक्त गरेको थियो । यसअघि भ्रष्टाचार र महिला कर्मचारीमाथि यौन दुर्व्यबहारको आरोप लागेका कार्यकारी निर्देशकले राजीनामा दिएका थिए ।

गरिबी निवारण कोषलाई विश्व बैंकले दिएको सहायताको परियोजना डिसेम्बर महिनाबाट सकिएकाले सो कोषबाट तलब खाइरहेका कर्मचारीलाई पाल्ने अन्य स्रोत नभएकाले करार अन्त्य गरिएको उपाध्यक्ष भट्टराईले बताएका छन । मंसिर १४ गते करार अन्त्य भएको पत्र सबै कर्मचारीलाई दिइएको छ ।

करार अन्त्य भएका कर्मचारीले पुस १४ पछि अवकाश पाउनेछन् । गरिबी निवारण कोषको विश्व वैंकसँगको सम्झौता डिसेम्बर ३१ अर्थात पुस १६ मा सकिन लागेको छ । कोषमा अन्य वैकल्पिक स्रोतबाट वजेट व्यवस्था हुन नसकेकोले उपाध्यक्षस्तरीय निर्णयबाट सबै करार कर्मचारीलाई अवकाश दिइएको हो ।

यसमा तपाइको मत