राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्किएकी छन।

राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए। सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भई २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाट्न सत्रमा विशेष सम्बोधन गरेकी थिइन । भ्रमण दलमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमणका बारेमा जानकारी दिएका छन । राष्ट्रपति भण्डारीले सम्मेलनको उद्घाटनमा नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताउनुभएको मन्त्री बस्नेतले उल्लेख गरेका छन ।

नेपाल हिमाल, पहाड र तराईयुक्त अतिकम विकसित मुलुक भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको बताएकी थिइन ।

यसमा तपाइको मत