खुल्ला यौन व्यवहारः छोराछोरी बिहान ढीला उठ्न थाले अभिभावक चनाखो हुनुपर्छ
त्रिशुलीखबर
February 18, 2019


साँझ ६ बजे । भक्तपुरस्थित एक रेस्टुरेन्ट । टेबुलमा बसेका छन्, १५/१६ वर्षका दुई जोडी केटाकेटी । उनिहरूका चर्तिकला अलि फरक छ । उनिहरू एकअापसमा चुम्बन गरिरहेका छन् । टीभीमा क्रिकेटको प्रत्यक्ष प्रसारण हेरिरहेका अन्य ग्राहकहरू अरू टेबलमा छन् । स्कूल ड्रेसमा रहेका ती केटाकेटीको चर्तिकलाले अन्य मानिसहरूलार्इ असजिलो र अप्ठ्यारोमा पारेको सहज अनुमान लगाउन सकिन्छ ।

नयाँ बसपार्कस्थित एक लोकदोहोरी साँझ । नाच-गाना चलिरहेको छ । अर्धनग्न केटीहरू ग्राहकको सेवामा कटिवद्ध छन् । उनिहरु कोही केटाहरूसँग मस्किरहेका छन् भने कोही ग्राहकहरूसँग टाँस्सिएर बसेका छन् । एक टेबलमा मोलतोल चलिरहेको छ ।

करिब २५-२६ की लाग्ने ती केटी भन्छिन्, ‘मेरो रूममा जाने भए एक रातको पाँच हजार चार्ज लाग्छ ।’

ठमेलको डान्सबार । डान्सबार अत्यन्त खचाखच छ । १४-१५ का केटाकटीदेखि ४०-४५ उमेर समुहका मानिसहरू छन् । हिन्दी गीतमा उत्तेजक नृत्य गरिरहेका अर्धनग्न डान्सरहरू पालैपालो नाचिरहेका छन् । जब साँझ ढल्कँदै जान्छ तब पहिरन फाल्ने कार्य सुरू हुन्छ । पानी र बियरले भिजेका कपडा र शरिर प्रदर्शन भइरहेछ । नर्तकीहरूका हावभाव अत्यन्त अपिलपूर्ण छ । बाहिरी बस्त्र खुलिसक्यो, हेर्दाहेर्दै भित्री पहिरन समेत फ्याँकिन थालियो । हल सुसेली र तालीले गुन्जायमान भयो । साँच्चै भन्नुपर्दा उनिहरू पुरै नांगिए र त्यसको भरपुर मज्जा ग्राहकले लिए ।

फागुन १ । अपरान्ह पाँच बजे । कारबाट एकजोडी युवायुवती झरे ।  रानीवन छेवैको एक कटेज रेष्टुरेन्टमा गए । प्रतिघन्टा ५ सयका दरका कोठामा उनिहरू पसे । दुई घण्टा पछि निस्किएका उनिहरु निक्कै थकित देखिन्थे । करिब २२ की युवती र ४० बर्षे लाग्ने युवाको सम्बन्ध के थियो भन्दापनि उनिहरू मस्ती मार्न अाएको सहजै अनुमान लगाउन सकिन्थ्यो ।

माघ महिनाको यो एक साता उपत्यका वरिपरि देखिएका यी गतिविधिहरुले अाधुनिकताका नाममा समाज यौन व्यवहारमा खुल्ला बन्न थालेको अनुभूत गराउँछ । एकातिर नयाँ पुस्ता आधुनिकतासँगै याैनका विषयमा उदार र सहज बन्न थालेको र अर्कातर्फ असहज लाग्ने यस्ता दृश्यहरू देखेर पनि नदेखे झैं गर्ने प्रवृत्तिमा बढावा अाएको अाभास मिल्छ । के साँच्चै नेपाली समाज खुल्लापन उन्मुख भएको हो त ? भन्ने सवालमा मानवशास्त्रीहरू याैनका विषय अब गुपचुप र रहस्यको विषय नरहेको र सामाजिक दृष्टिकोण पनि उदार बन्न थालेको बताउँछन् ।

राणा कालमा यौन गतिविधि दासदासीका रूपमा हुने गर्थ्यो । धनाढ्यहरूले रख्यैल राख्ने गर्थ्ये । यसको खुल्लापन ०४६ सालपछि सर्वसाधारणमा भित्रन थाल्यो । उद्योग-व्यापार, सूचना-प्रविधि, वैदेशिक रोजगारी जस्ता क्षेत्रहरू बढेसँगै नेपाली समाज थप गतिशील बन्न थाल्यो । अार्थिक गतिशिलताले खुल्लापन भित्र्यायो । खुल्लापनको उपयोग अहिले भरपुर हुन थालेको छ ।

नेपाली समाज याैन जन्य गतिविधिमा उदार बन्न थालेको कुरा विभिन्न संचारमाध्यमहरूमा देखिने दृश्य, पत्रपत्रिकाका अंशहरू, तथा अनलाइनमा अाउने सामग्रीहरूको लोकप्रियताले पुष्टी गर्छ । नेपाली सेलिब्रेटीहरू हिटको लिष्टमा तिनै विषयबाट चर्चामा अाएकाहरू ज्यादा छन् । सार्वजनिक कार्यक्रम तथा उत्सव-समारोहमा पनि उनैलार्इ रूचाइन्छ । सेक्स टोय शपहरू अहिले जहिंतहिं खुलेका छन् र व्यापारका दृष्टीले समेत सम्भावनायुक्त रहेको व्यापारीहरू बताउँछन् । शहर-बजारका गेष्टहाउसहरू एक घण्टे ग्राहकले धानेको छन् । रेष्टुरेन्ट, दोहोरी साँझ, डान्सबार, डिस्को-क्लबदेखि कफी शपसम्ममा समेत यसप्रकारका गतिविधि हुने गरेका छन् । यौनजन्य क्रियाकलाप स्कुल कलेजमा धेरै हुने कुरा बेलाबेला अाउने घटनाले देखाउँछ । समाजभित्रको गोप्य पाटो छताछुल्ल हुनेक्रम दिन दुर्इ गुणा रात चारगुणाका दरले बढीरहेको छ । केटासाथी र केटीसाथी बनाउने, रात्रीकालिन मस्ती गर्नेदेखि लिभिङ टुगेदरसम्मका चलन चलिरहेकै छन् । शहरिया जीवनशैली अत्यन्त रंगिन बनिरहेको छ । यौन गतिविधिमा मोबाइल फोन र इन्टरनेटको प्रयोग बढिरहेको छ, प्रविधिको भूमिका महत्वपूर्ण छ ।

तन्नेरीहरूलार्इ लभ, सेक्स र ट्रेजेडी अब सामान्य लाग्न थालेका छन् । अनामनगरमा अन्दाजी २२ बर्षिया युवती चुरोटको धुँवा उडाउँदै साथीसँग गफिंदै थिइन्, ‘एक गाँठवाला अर्धबैंसेसँग सम्बन्ध राखेको दुर्इ महिना मात्रै भएको थियो, झन्डै फसिएन यार । बुढाका पहिल्यै एक बैधानिक श्रीमती र अन्य दुर्इ गर्लफ्रेड रहेछन् । पैसा त खर्च गर्ने हो तर अरू नसक्ने, उसलार्इ छाडिदिएँ, अर्को खोज्दै छु ।’

मनोविज्ञ डा. गंगाराम ढकालले यस स्तम्भकारलार्इ बताए, कलेजका प्लस टु पुस्ता ब्वाईफ्रेण्ड–गर्लफ्रेण्ड नहुनुलाई कमजोरीको रूपमा लिन्छन् र जोडी नहुनेहरूले हीनताबोध गर्न थालेका छन् । दशकअघि मात्र बिहे पूर्वको यौन सम्बन्ध र सम्बन्धविच्छेद असामान्य रहेकोमा अहिले अाएर सामान्य भइसकेको मानवशास्त्री हरिहर दाहाल बताउँछन् । कुमारीत्वको कुरा अहिले सेफ सेक्समा आइपुगेको दाहालको कथन छ । उनी भन्छन्, ‘कण्डमलार्इ पहिले परिवार नियोजनको अस्थायी साधन भनिन्थ्यो, अहिले सेफ सेक्सको लागि कण्डम भनिन्छ ।’

प्लस टुका शिक्षक-विद्यार्थी खुल्लमखुल्ला सेक्स सम्बन्धी चित्र तथा भिडियोहरू साटासाट गर्छन् । यस्तै एक घटनाले केही महिनाअघि चर्चा बटुलेको थियो । ६ छात्रालाई नजिकैको साईबर क्याफेमा पोर्न साइट देखाइएको सो घटना सहजै साम्य भयो । भिडियो हेर्नेमध्ये की एक केटीले अाफुहरूले राजीखुशीमा हेरेको र सो भिडियो हेरेर कुनै गल्ती नगरेको बताएकी थिइन् । तर, कलेज प्रशासनले उनका अभिभावक बोलाएर काउन्सिलिङ गराउन सल्लाह दिएको थियो ।

रातभर पोर्न साइट हेर्ने र सेक्स च्याटगर्ने प्रयोगकर्ताको संख्यामा उल्लेख्य बढेको प्रहरीको रिपोर्ट छ । यसका कारण अपराध बढेको निश्कर्षसहित नेपाल सरकारले पोर्न साइटहरूमाथि प्रतिबन्धसमेत लगाएको छ । यो एकप्रकारको कुलत भएको मनोविद् यज्ञ फुलारा बताउँछन् । मोबाइल, ल्यापटप साना उमेरका मानिसको सहज पहुँचमा हुँदा यसको दुरुपयोग बढेको फुलाराको भनार्इ छ । उनको सुझाव छ, ‘छोराछोरीहरू बिहान ढीला उठ्न थाले भने अभिभावकहरू चनाखो हुनुपर्छ ।’

टिप्पणी लेख्नुहोस्