काठमाडौंमा अब नयाँ निजी स्कुल खोल्न नपाइने
त्रिशुलीखबर
February 27, 2019


काठमाडौं, १५ फागुन । काठमाडौं महानगरले आउने शैक्षिक सत्रमा नयाँ निजी स्कुल खोल्न अनुमति नदिने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बनेको १३ सदस्यीय महानगर शिक्षा समितिको बैठकले आउने शैक्षिक सत्रमा शैक्षिक गतिविधि सञ्चालनका लागि प्रस्तुत गरिएका प्रस्तावमाथि छलफल गर्दै यो निर्णय गरेको हो ।

महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अर्को निर्णय नहुन्जेलसम्म अब काठमाडौं महानगरमा नयाँ निजी स्कुल स‌ञ्चालन गर्न दिइने छैन ।

त्यस्तै, काठमाडौं महानगरपालिका, विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद २, नियम (५) बमोजिम सामुदायिक तथा संस्थागत स्कुलले आउने शैक्षिक सत्रका लागि नयाँ स्कुल सञ्चालन तथा तह थपको अनुमति र नियम (१८) बमोजिम कक्षा थपका लागि अनुमति माग्न सक्ने व्यवस्था छ। यस व्यवस्था बमोजिम माग भएका प्रस्तावमाथि छलफल गर्दै बैठकले कक्षा थप, कक्षा ९ सञ्चालन, कक्षा ११ मा विषय थपको निवेदन दिने सामुदायिक तथा संस्थागत स्कुल अनुगमन गरेर मापदण्ड पूरा गरेकालाई अनुमति दिने निर्णय पनि गरेको छ ।

कक्षा ११ र १२ भएका स्कुल वा कलेजले कक्षा १ सञ्चालन गर्न माग गरेको खण्डमा मापदण्ड पूरा गरेकालाई सहकारी वा शैक्षिक गुठीमा सरकारको नीति अनुरुप प्रति शैक्षिक सत्र एउटा कक्षाको अनुमति दिइने भएको छ ।

स्कुल सञ्चालन अनुमति, अपग्रेड जस्ता विषयमा स्वीकृति नै नलिई विद्यार्थी भर्नाका लागि विज्ञापन गर्ने परिपाटीमाथि समिति कठोर बनेको पनि प्रवक्ता डंगोलले जानकारी दिए ।

उनका अनुसार विद्यार्थी भर्ना गर्न प्रचारप्रसार गर्ने स्कुललाई यसो नगर्न शिक्षा विभागले सचेत गराउने र यसपछि पनि नमान्नेलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

टिप्पणी लेख्नुहोस्