२ किलो सुनसहित पक्राउ परेका दुई जना सार्वजनिक
त्रिशुलीखबर
March 7, 2019


कैलाली, फागुन २३ । जिल्ला प्रहरी कार्यालय कैलालीले सुनसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी २ किलो २ सय ३२ ग्राम सुनसहित पक्राउ परेका रमेशकुमार शैजु र सिताकुमारी चौधरीलाई सार्वजनिक गरेका हुन । शैजु धनगढी १ का सुनचाँदी व्यवसायी हुन् भने चौधरी सोही पसलमा काम गर्छिन् ।

कैलालीको लम्किचुहा ३, चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति साढे ११ बजे २ किलो २ सय ३२ ग्राम सुन र १० किलो बराबरका चाँदीका तयारी सामान बोकेर आउँदै गरेको बा १९ च ७४१३ नम्बरको जीप सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको कैलालीका एसपी आभुषण तिम्सिनाले बताएका छन । पक्राउ परेका शैजुको धनगढीको मेनरोडमा हुलाक भवन र त्यसको अगाडी एक एक ओटा ओटा निलम सुनचाँदी गहना पसल संचालनमा रहेको छ ।

सैजुको गतिविधिमा शंका लागेर प्रहरीले केहिदिनदेखि निगरानी बढाएको एसपी तिम्सिनाले बताएका छन । उनले सोही अनुरुप सुन बोकर धनगढी आउँदै गरेको सूचना प्राप्त हुनासाथ निजलाई बर्दियाबाट कैलाली प्रवेश गर्ने नाकामा नै नियन्त्रणमा लिएको बताएका छन ।

सैजुले बेलाबेलामा भारतबाट चोरी गरेर ल्याएको सुन खरिद गर्ने गरेको, चोरीका सुनका गहना खरिद बिक्री गर्ने गरेको लगायतका सूचना आएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणी लेख्नुहोस्