बिरामी बालकलाई डाक्टरले हाने १० थप्पड
त्रिशुलीखबर
March 8, 2019


बुटवल, २३ फागुन । दाँत र गिजाको उपचार गर्न गएका बालकलाई थप्पड हानेपछि बुटवलमा दन्त चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

दायाँतर्फको दाँतको गिजामा घाउ आएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरका ६ वर्षीय अभिनव विक अाफ्नो आमा कमलासँग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएका थिए ।

अस्पतालको ओपिडी टिकट लिएर जाँच गराउने क्रममा दन्त चिकित्सक हेमन्त पाठकले देब्रे गालामा १० थप्पड हानेको उनको परिवारले जनाएको छ ।

चिकित्सको लगातारको थप्पडपछि बालक अभिनवको गाला रातै भएको र सुन्निएको थियो ।

बालकका बुवा राजु विकले अस्पतालकै चिकित्सकले बिरामी बालकमाथि गरेको व्यवहार अत्यन्त निकृष्ट भएको बताए । उनले उपचार गर्नुको सट्टा झनै घाइते बनाउने गरी कुटपिट गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरे ।

उपचार गर्नुको सट्टा बालकलाई कुटपिट गरेको भन्दै अस्पतालमा आएका बिरामीका आफन्त तथा सर्वसाधारणले कुटपिट गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गर्दै केहीबेर अस्पताल घेराउ र नाराबाजी गरेका थिए ।

बिरामीका आफन्तको नाराबाजीपछि प्रहरीले उपचारमा संलग्न चिकित्सक पाठकलाई पक्राउ गरेको छ ।

आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि डा. पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

चिकित्सक पाठकले बालकले सुई लगाउन नदिएपछि तर्साउने क्रममा गालामा थप्पड हानेको बताएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्