मनाङमा हिम पहिरो, एक जनाको मृत्यु, एक वेपत्ता
त्रिशुलीखबर
March 9, 2019


काठमाडौं, फागुन २५ । मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।
मनाङको निस्याङ गाउँपालिका १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले जानकारी दिएका छन ।

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । त्यसलगत्तै खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्