गुड्दै गरेको मोटरसाइकलमाथि बस पल्टिँदा दुई जनाको मृत्यु
त्रिशुलीखबर
March 13, 2019


सप्तरी, फागुन २९ । सप्तरीमा गुड्दै गरेको मोटरसाइकलमाथि बस पल्टिँदा दुई जनाको ज्यान गएको छ । एक दर्जन घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५, कुसहास्थित सुरुङ्गा पुल छेउमा गुड्दै गरेको को।२४प ६४२५ नम्बरको मोटरसाइकलमाथि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ख ४९३४ नम्बरको बस बुधबार बिहान पल्टेको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ का मजबुल मियाँ र पछाडि सवार रामे पासवानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा बसका एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, स्थानीयहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्व पारेका छन् । मृतकका आफन्तले पोष्टमार्टमका लागि शव लगिएको भन्दै चक्काजाम गरेका हुन् ।

टिप्पणी लेख्नुहोस्