सिके राउतसँग भन्दा पूर्वराजाप्रति उत्साहित
त्रिशुलीखबर
March 13, 2019


जनकपुर, २९ फागुन । काठमाडौंमा सिके राउतको चर्चा चर्किएको छ । उता, मधेसमा भने यसको ठिक उल्टो परिदृश्य देखिएको छ ।

११ बुँदे सम्झौता लिएर जनकपुर पुगेका दिन भव्य स्वागतमा उर्लिएका राउतका समर्थकका गतिविधि एकाएक सेलाएका छन् । यसै अवस्थामा एकाएक पूर्वराजा ज्ञानेन्द्र मधेस पुगेका छन् । उनको समर्थकको दौडधूप मधेसमा बढेको छ ।

जनकपुर प्रवेश गर्नासाथ सिके राउत होइन पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा चर्चा चुलिएको छ । ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् ।

जनकपुरधाममा पनि ठाउँठाउँमा पूर्वराजाको स्वागत ब्यानर टाँगिएका छन् । रिक्सा चालकदेखि व्यापारीसम्मले ‘राजा आउन लागेको’ र उनले हिन्दू धर्मका कुरा गर्ने सुनेको बताएका छन् ।

हिजो चर्का अलगाववादी कुरा गर्दा केही युवाको साथ पाएका सिके राउत अहिले अाफ्नै समर्थकहरुको चित्त बुझाउन नसकेर थन्कनु पर्ने अवस्थामा पुग्नसक्ने अाँकलन गर्न थालिएको छ । राउत कमजोर बनिरहँदा पूर्व राजाका गतिविधि भने मधेसमा बाग्लिएको मात्र होइन झाँगिनेछ भन्ने भन्ने सँगसँगै अाँकलन हुन थालेको छ ।

११ बुँदे सम्झौता विपरीत अभिव्यक्ति दिँदा प्रशासनिक कारवाही भोग्नुपर्ने तथा अलग मधेसको एजेण्डा छाडेको भनेर जाँदा आफ्ना उग्र समर्थकबाटै आक्रमणमा परिने डरका कारण राउत तनावमा रहेको विश्लेषण गरिँदैछ । यद्यपि राउतले ११ बुँदेको अन्तर्य बारे अहिलेसम्म औपचारिकरुपमा नबोलेको जनकपुरस्थित उनका सहयोगीहरुले दाबी गरेका छन् । सरकारसँगको सहमतिलाई कसरी बाहिर लैजाने भनेर आन्तरिक छलफल भइरहेको उनीहरुको भनाइ छ । अवस्था हेरेर यूटर्न हुनसक्ने अवस्था पनि प्रबल छ ।

जनकपुरस्थित आफ्नै निवासमा बसिरहेका सिके राउत कुनै सार्वजनिक कार्यक्रम वा भेटघाटमा समेत देखिएका छैनन् । लामो समय परिवारबाट टाढा भएकाले उनी पारिवारिक भेटघाटमा व्यस्त रहेको उनका सहयोगीले बताए ।

सीके राउत समूहका एक नेताले मधेस अलग राष्ट्र भन्ने कुरा छाडेको सत्य भएको बताए । ‘मधेसको सन्दर्भमा अब कसरी जाने भन्ने बारेमा राउतजीले योजना बनाउँदै हुनुहुन्छ’, उनले भने । विदेशमा पनि उहाँलाई साथ दिने धेरै बिद्धान मित्रहरु रहेकाले उनीहरुको पनि राय सल्लाह लिँदै गरेको र उहाँको फेसबुक र ट्वीटर पनि अहिलेसम्म अन्य साथीले नै अपडेट गरिरहेका उनले दावी गरे ।

राउत समूहका प्रवक्ता चन्दन सिंहले राज्यसँग जे लिखित सम्झौता भएको छ, त्योबाहेक अन्य कुरा अफवाह मात्रै चलिरहेको प्रतिक्रिया दिए । उनले कार्यकर्ता र समर्थकलाई के भनेर आश्वस्त पार्ने भन्ने बारेमा आन्तरिक छलफल गरिरहेको भन्दै अन्य हल्लाको अर्थ नरहने प्रष्ट पारे ।

यता केन्द्र सरकारका प्रधानमन्त्रीले हस्ताक्षर गरेर सम्झाैता गरिरहँदा उता प्रदेश सरकार भने त्यती खुशी देखिँदैन । प्रदेश सरकार सिके राउतप्रति कडा हुने देखिन्छ । उनका समर्थकहरुमाथि प्रदेश सरकारले पनि निगरानी गरिरहेको छ ।

सिके राउतलाई संघीय सरकारले हैसियतभन्दा बढी महत्व दिएकोमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असन्तुष्टि जनाएका छन् । मुख्यमन्त्री लालबाबुका अनुसार सिके राउतलाई पृथकतावादी धारबाट मूलप्रवाहमा ल्याउने कार्य सही भए पनि उनी प्रधानमन्त्रीकै तहबाट सम्बोधन गरिनुपर्ने जनाधार भएका व्यक्ति भने होइनन् ।

यदि संघीय सरकारसँगको सम्झौता विपरीतका गतिविधिहरु दोहोरिएमा प्रदेश सरकारले नसहने प्रदेशका आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रष्ट पारे । ‘काठमाडौं र अन्यत्र सिके राउतले अब मधेसमा के के न गर्न लाग्यो भन्ने आतंक देखिन्छ । तर, यहाँ उनको कुनै गतिविधि छैन । संविधान, कानुन तथा सरकारसँगको सहमति विपरीत कुनै गतिविधि गरेमा हामी छाड्दैनौं,’ मन्त्री यादवले भने ।

मधेसका सर्वसाधारण सिके राउतको लफडा सकिएको मान्छन् । जनकपुरधाममा सर्वसाधारण मात्रै होइन, संघीय समाजवादी फोरमका उपाध्यक्षसमेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत सिके राउतको लफडा सकिएकोमा सहमत छन् । मुख्यमन्त्री राउतले भने, ‘सिके राउतका कारण कतिपय मान्छेले काठमाडौंबाट सबै मधेसीलाई विखण्डनकारीका रुपमा हेर्थे, कम्तिमा अब त्यो ‘शरदर्द’ समाप्त भएको छ ।’

सिके राउतले भनेजस्तो मधेसमा जनमत संग्रह हुन नसक्ने मुख्यमन्त्रीको विश्लेषण छ । मुख्यमन्त्री लालबाबु भन्छन्, ‘जहाँसम्म जनमत संंग्रह वा अरु कुरा छ, न त त्यो सम्भव छ, न सिकेको जनमत र संगठन नै छ । उग्र कुरा गरेर आएका व्यक्तिलाई सही धरातलमा उभिन केही समय लाग्छ, त्यति हो ।’

तर, २ नं. प्रदेश सरकार पूर्वराजाका गतिविधि बारे के गर्ने भन्नेमा दुविधामा छ । बढीभन्दा बढी मधेसका जनताको समर्थन रहने अनुमान गरिएको पूर्वराजाको भ्रमण कार्यक्रमले अाउँदा दिनमा मधेसमा कस्तो बहार ल्याउँला त्यो हेर्न भने केहिसमय पर्खनै पर्छ ।

टिप्पणी लेख्नुहोस्