भारतले नेपालबाट लिएको भूभाग फिर्ता हुनुपर्ने मुद्दा दर्ज
त्रिशुलीखबर
March 13, 2019


काठमाडौं, २९ फागुन । सुगौली सन्धीमार्फत भारतले लिएको भूभाग फिर्ता पाउन गरेको आन्दोलनको नेतृत्वकर्ता हुन्, फणिन्द्र नेपाल । उनको नेतृत्वमा संचालित आन्दोलनको नाम हो ‘ग्रेटर नेपाल’ । त्यही ग्रेटर नेपालका अभियन्ता नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाएका छन् ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले परिषदको ४० औं सत्रमा सो माग दर्ज गराएका हुन् ।

नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखि यता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताएका छन् । साथै उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको उनको भनाइ छ ।

‘नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दफा १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको गैरसरकारी प्रतिनिधिका रुपमा बैठकमा भाग लिन पुगेका नेपालले तर्क गरेका छन् । नेपालले भने, ‘त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।’

सीमा लगायत दशगजाका पिल्लरहरु जथाभावी उखेलेर भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेको पनि उनले कार्यक्रममा बताए । ‘आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको छ । ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् । म राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिररुपमा लिइदिन अनुरोध गर्छु,’ नेपालले आफ्नो सम्बोधनमा भने ।

आजको वैठकको एजेन्डा ‘मानवअधिकार समस्या जसमा परिषदको ध्यान जानुपर्छ’ भन्ने थियो । वैठकमा करिब १ सय ४० वटा गैरसरकारी संस्थाका प्रतिनिधिले आफ्नो देशको समस्या सुनाएका दिए ।

टिप्पणी लेख्नुहोस्