प्रहरीले भन्योः ‘विप्लवका कार्यकर्ता पक्रने हो भने जेलले पुग्दैन, कैयाैं स्कुल चाहिन्छ’
त्रिशुलीखबर
March 14, 2019


सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय निर्माण हुने ठाउँ

 

काठमाडौ, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको घर कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ६ मालकोटमा पर्छ । उनले मालकोटमा अाफ्नो प्रभाव राम्रैसँग स्थापित गरेका छन् ।

प्रहरीका लागि विश्वकर्माको गाउँ मात्र होइन गृह जिल्ला कालिकोट नै सुरक्षा दृष्टिले निकै संवेदनशील क्षेत्र हो ।

विश्वकर्माको अगुवाइमा मालकोटमा २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय पनि बनिरहेको छ । हेडक्वार्टरसम्म पुग्न १४ किलोमिटर बाटो खन्न थालिएको छ । खुलालु-लालु-मालकोटसम्म १४ किलोमिटर सडक विप्लव नेतृत्वको नेकपाले खनिरहेको छ ।

यो कालिकोट सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढा कर्णालीपारिको भूभाग हो । सदरमुकामबाट कर्णाली नदीसम्म बाटो छ । तर, कर्णालीपारि बाटो छैन । कर्णाली नदीमा पुल बन्दैछ । त्यो पुल पनि उसैको नेतृत्वमा बनेको स्थानीय बताउँछन् । नदीबाटै डोजर पार गराएर सोपार्टीले बाटो खन्न थालेको प्रहरी बताउँछ ।

झन्डै पाँच करोड लागतमा सडक खन्न थालेको नेकपाका एक स्थानीय नेताले दावी गरे । सात किलोमिटर सडक खनिसकिएको छ । सवा करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ ।

१४ किलोमिटर बाटो खन्दै नेकपा

 

बम बिस्फोट, चन्दा-आतंक बढेको हल्लासँगै प्रहरीले अहिले सडक र पार्टी हेडक्वार्टर भवनको निर्माण रोकिदिएको छ । कालिकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार यी सबै कार्य विश्वकर्माकै अगुवाइमा भइरहेका छन् । नेकपाबाट प्रहरीलाई चुनौती दिने काम भइरहेको र उनीहरूको अभियान सफल बन्न नदिन प्रहरी हरदम लागिरहेको उनको दावी छ ।

शर्माका अनुसार विश्वकर्मालगायत एक दर्जन नेताको खोजी भइरहेको छ । विश्वकर्मा अहिले संगठन विस्तारका क्रममा एक नम्बर प्रदेश पुगेको प्रहरीले जनाएको छ ।

कालिकोट कर्णाली प्रदेशको नेकपा प्रभावित क्षेत्र हो । यहाँबाट विप्लवको पार्टीमा पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी-कर्णाली ब्युरो गरी १३ जना नेताहरूले प्रतिनिधित्व गरिरहेका छन् । नेकपाको काठमाडौं जिल्ला अध्यक्ष भीरेन्द्र उपाध्याय र ललितपुरमा नवीन विक कालिकोटकै हुन् । विकलाई प्रहरीले नख्खु बिस्फोटको योजनाकार भनेको छ । उनी कालिकोटमा लुकिछिपी बसिरहेको प्रहरीले जनाएको छ । तर, नेकपाले भने अाफ्ना नेता कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने र सरकारी पक्षबाट दमन बढाएको बताइरहेको छ ।

कर्णाली प्रदेशका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन् । प्रहरी स्रोतका अनुसार विप्लव ‘भूमिगत’ भएर नुवाकोट, काभ्रेतिर गतिविधि गरिरहेका छन् । संगठन विस्तारको काम प्रकाण्डले गरिरहेका छन् । अदालतबाट छुटेपछि प्रकाण्डले गृह जिल्लामा गतिविधि बढाएको कालिकोट प्रहरीको विश्लेषण छ ।

कालिकोटबाट १३ केन्द्रीय र पोलिब्युरो सदस्य छन्। तीमध्ये कसैलाई जिल्ला, एक भन्दा बढी जिल्ला, प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

नवीन विक ललितपुर जिल्ला इञ्चार्ज हुन् । खम्बा बुढा भेरी कर्णाली ब्युरो हुन् । धीरेन्द्र उपाध्याय काठमाडौं इञ्चार्ज हुन् । कालिकोटका अन्य नेताहरू लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐरी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाही हुन् ।

डिएसपी शर्माका अनुसार यी सबै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा छ ।

प्रहरीले गरेको दावी अनुसार विप्लव नेतृत्वको नेकपाले प्रहरी कार्यालयलाई निशाना बनाउन खोजेको छ ।

‘उनीहरूसँग प्रशस्तै हतियार छन् र प्रहरीबाट हतियार लुट्ने योजना पनि बनाइरहेको सुनिन्छ, तर वास्तविकता के हो हामी अनुसन्धान गरिरहेका छौं,’ डिएसपी शर्माले भने ।

मंगलबार मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेकपाका राजनीतिक लगायत गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि कालिकोट प्रहरीले जिल्लाका केही स्थानमा रातभरि ‘अपरेसन’ चलायो । कुमालगाउँ, कोटबाडालगायत स्थानमा प्रहरी परिचालन भए पनि कोही फेला भने परेनन् ।

विश्वकर्माको घर भएको नरहरिनाथ त्यही गाउँपालिका हो, जहाँ स्थानीय तह निर्वाचन हुँदा अवरोध भएको थियो । त्यसक्रममा नरहरिनाथ गाउँपालिकामा उठेका एक उम्मेदवारको मृत्युसमेत भएको थियो । ती मृतकलार्इ नेकपाले सहिद घोषणा गरेको थियो ।

२०७४ वैशाख ३१ गते मतदान सकेर मतपेटिका लैजाने क्रममा नेकपाका कार्यकर्ताले अवरोध गरेका थिए । त्यसपछि झडप हुँदा प्रहरीको गोली लागेर धनरूप बटालाको मृत्यु भएको थियो । उनलार्इ पनि सोपार्टीले सहिद भनेको छ ।

प्रतिनिधिसभा चुनावताका विप्लव नेतृत्वको नेकपाले कालिकोटका सबै प्रहरी चौकीमा आक्रमण गरेको थियो । सो अाक्रमणबाट खासै ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

कालिकोटमा ६ वटा गाउँपालिका, ३ नगरपालिका छन् । जिल्ला प्रहरीसहित पन्ध्र वटा युनिट छन्, ३५० जनाको दरबन्दी छ ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको गढ हो । यहाँ हरेक घर उनका कार्यकर्ता छन् । युवादेखि वृद्धवृद्धासम्म विप्लव नेकपाप्रति बटिवद्ध छन् । डिएसपी शर्मा भन्छन्, ‘विप्लव नेकपाका कार्यकर्ता पक्रने हो भने यहाँको जेलले थाम्दैन, तीन वटाजति त स्कुल चाहिन्छन् ।’

टिप्पणी लेख्नुहोस्