बायर्नलार्इ हराउँदै लिभरपुलले तय गर्यो क्वार्टरफाइनल यात्रा
त्रिशुलीखबर
March 14, 2019


एजेन्सी । जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई उसैको मैदानमा ३–१ गोलले स्तब्ध बनाउँदै इङ्लिस टोली लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

लिगअन्तर्गत यसअघि लिभरपुलको घरेलु मैदानमा भएको अन्तिम १६ को पहिलो लिग गोलरहित बराबरीमा सकिएको थियो ।

बुधबार राति बायर्नलाई घरेलु मैदानमा हराउन लिभरपुलका साडियो मानेको भूमिका महत्पूर्ण रह्यो । उनले दुई गोल गरेका थिए ।

२६ औँ मिनेटमा पहिलो गोल गरेका मानेले ८४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

लिभरपुलका लागि अर्को गोल ६९ औँ मिनेटमा भिर्जिल भान जिकले गरेका थिए ।

यसअघि ३९ औँ मिनेटमा लिभरपुलका जोल माटिपबाट एक आत्मघाति गोल भएको थियो ।

बायर्न, २०१० र ११ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । लिभरपुल यो सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने चौथो इङ्लिस क्लब बनेको छ ।

यसअघि इङ्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोट्टनहामले क्वार्टरफाइनलमा स्थान बनाई सकेका छन् । स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब युभेन्टस, डच क्लब अजाक्स र पोर्चुगिज क्लब एफसी पोर्तो पनि क्वार्टरफाइनलमा पुगेका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल तालिका शुक्रबार राति सार्वजनिक हुनेछ ।

टिप्पणी लेख्नुहोस्