दुई हवाईजहाज चार्टर गरेर जन्ती अायो काठमाडौं
त्रिशुलीखबर
March 14, 2019


धनकुटा, ३० फागुन । धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ९ का नगेन्द्र थापाका छोरा दिनेश थापाको विवाहका लागि हवाइजहाज चार्टर नै गरिएको छ । त्यो पनि एउटा जहाज होइन दुर्इ वटा ।

जीतपुरबाट काठमाडौं जन्ती अाउनजानका लागि हवाइजहाज चार्टर गरिएको थापाले बताए ।

अाजकल सामान्यतया एकदिने बिवाह हुनेगर्छ । वरियात तथा जन्तीका लागि अावतजावत गर्न गाडीको प्रयोग त सामान्य नै बनिसकेको छ । तर, जन्तीका लागि हवाइजहाजको प्रयोग भने असामान्य र अाश्चर्यको रूपमा लिइन्छ ।

थापाले अाफ्नो छोराका लागि ६९ जना जन्ती लाने तय गरे । त्यो एकैदिन अाउनजान निक्कै कठिन थियो, त्यसकारण हवाइजहाज प्रयोग गरेको थापाको भनाइ छ ।

अर्को अाश्चर्य त के छ भने, बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्तीमध्ये अधिकांश जेष्ठनागरिक थिए र उनिहरू पहिलो पटक काठमाडौंको यात्रामा थिए ।

पहिलो पटक काठमाडौं जानेमा ४० जना ज्येष्ठ नागरिक छन् । थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए । विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापाले बताए । थापाले भने, ‘ज्येष्ठ नागरिकलाई काठमाडौं भ्रमण गराउनु पनि मेरो उद्देश्य हो । छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा म खुसी छु ।’

७५ वर्षीय दिलबहादुर पौडेल पहिलो पटक काठमाडौं अाइपुग्दा निकै दङ्ग देखिन्थे । दौरा सुरुवालमा ठाँटिएका पौडेलले भने, ‘मैले त जहाजसमेत पहिलो पटक चढेको हुँ ।’

एकैदिनमा विराटनगरबाट काठमाडौं अाइपुग्दा अाफु निक्कै रोमाञ्चक भएको पाैडेलले बताए । उनले भने, ‘यो क्षण मेरा लागि जीवन कै सुखद क्षण हो ।’

‘मैले त सोचेकै थिइन यस्तो अवसर आउला भन्ने’ अर्का ६८ बर्षिय चक्रबहादुर पाैडेलले भने, ‘पिलेनबाट तल हेर्दा रिँगटा लागे जस्तो भयो, तर पनि असाध्यै रमाइलो भयो ।’

अर्का ज्येष्ठ नागरिक पदमबहादुर खड्काले पनि पहिलो पटक जहाज चढेर काठमाडौं पुग्दा रमाइलो भएको बताए ।

जन्तीका रूपमा मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायत जनप्रतिनिधिहरू पनि अाएका छन् । मेयर नेपालले भने, ‘जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य पार्टी प्यालेसमा पुग्दा अधिकांश दङ्ग देखिएका छन् ।’

दुबैतर्फ अाउजाउका लागि जहाज चार्टर गर्दा साढे सात लाख रुपैयाँ खर्च भएको दुलाहाका पिता नगेन्द्रले बताए । अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले पनि सुनाए । उनले भने, ‘यो अवसर बल्ल जुर्यो, जन्तीको अवसर पारेर इच्छा पुरा गरें ।’

छोरा दिनेशसँग काठमाडौं निवासी बुहारी प्रज्ञा सुवेदीको वैवाहिकसम्बन्ध जोडिएको र ‘दुलाहा–दुलही’ लिएर जहाजमा जान अाफु अातुर रहेको उनले बताए । थापाले हर्षित मुद्रामा भने, ‘बुधवार राति नै जहाजमा दुलहीलार्इ लिएर जीतपुर फर्किन्छाैं ।’

टिप्पणी लेख्नुहोस्