ओली–दाहालबीच मतभेद
त्रिशुलीखबर
March 14, 2019


काठमाडौं, ३० फागुन । केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल पुनर्गठन बारे चर्चाहरू आइरहेका छन् । चर्चाका बीच नेकपाका दुर्इ अध्यक्षको छलफल भएको पनि बताइएको छ । मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको बताएपछि सो रहस्य खुलेको थियो । अहिले यो विषय पुनः चर्चामा आएको छ ।

यसपटकको चर्चाको विषय हो, दुर्इ अध्यक्षबीचको मतभेद । मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा चर्चा शुरु भएसँगै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मतभेदका संकेतहरु देखिएका छन् । मन्त्रीमण्डल पुर्नगठनजस्तो विषयमा पार्टीभित्र औपचारिक छलफल नभएकोमा अरु शीर्ष नेताहरू पनि सन्तुष्ट छैनन् ।

विराटनगरमा सञ्चारकर्मीसँग दाहालले मन्त्रिमण्डल पुर्नगठनबारे प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुहुन्छ, त्यसमा बढी भर पर्ने बताएका थिए । व्यवस्था नै कार्यकारी प्रधानमन्त्रिय प्रणाली भएकाले प्रधानमन्त्रीकै हातमा यी सबै विषय अन्तर्निहित रहेको उनको तर्क छ । ‘उहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ, त्यसमा भर पर्छ । प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ,’ अध्यक्ष दाहालले भने ।

उनले भने, ‘प्रधानमन्त्रीजीको ‘म हेरिरहेको छु’ भन्ने भनाई छ । मैले यो तपाईंकै मूल्याङ्कनमा भर पर्ने कुरा हो, आवश्यक निर्णय गर्नुस् भनेको छु ।’

नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्डको अभिव्यक्ति धेरै अर्थपूर्ण छ । ‘उनको यस्तो अभिव्यक्तिले मन्त्रीमण्डल पुनर्गठनबारे प्रधानमन्त्री र उनको सहमति जुटेको छैन भन्ने सन्देश दिन्छ, ती नेताले त्रिशुलीखबरलार्इ बताए, ‘मन्त्रीमण्डल पुनर्गठनको विषयमा उठ्ने प्रश्नबाट जोगिन नै सचेतरुपमा प्रचण्डले यो काम प्रधानमन्त्रीको अधिकार भएको बताएका हुन् ।’

ती नेताको तर्क छ, ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने भए प्रधानमन्त्रीको चाहनामा मात्रै नभएर पार्टीभित्र सहमति गराएर होस् भन्ने प्रचण्डको चासो देखिन्छ ।’

बुधबारमात्रै एक टेलिभिजन कार्यक्रमलार्इ दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनबारे मुख खोलेका छन् । उनले भने, ‘मन्त्रीमण्डल पुर्नगठन जहिले पनि हुन सक्छ । तर, अहिले सोचिएको छैन ।’

प्रधानमन्त्रीको यस भनाईले पनि दाहालसँग सहमति बनि नसकेको स्पष्ट सन्देश दिन्छ । जुनसुकै बेला पनि आकस्मिक तथा महत्वपूर्ण निर्णय आफै लिने प्रधानमन्त्री ओलीको कार्यशैली भएकाले मन्त्रीमण्डल पुनर्गठनमा पनि त्यस्तै हुनसक्ने आँकलन गरिएको ती सचिवालय सदस्यको भनाइ छ ।

श्रोतका अनुसार प्रधानमन्त्री र दाहालबीच पछिल्ला भेटमा मन्त्रीमण्डल पुर्नगठन बारे छलफलहरू भइरहेको छ । पछिल्लो भेटमा प्रधानमन्त्रीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र केहीलाई हटाएर नयाँ ल्याउने बारे प्रस्ताव राखेका थिए । तर, ओलीले राम्रोभन्दा हाम्रो हेरेर मन्त्रीमण्डल पुनर्गठनको प्रस्ताव अगाडि सारपछि अध्यक्ष दाहाल भने ‘प्रधानमन्त्रीको अधिकार’ भन्दै पन्छिन खोजेको स्रोत बताउँछ ।

अध्यक्ष दाहालले भने एक वा दुर्इ मन्त्रीको कुरा नगरी सबैमन्त्री फेरबदलको प्रस्ताव गरेको पनि बताइन्छ ।

टिप्पणी लेख्नुहोस्