मधेसमा पूर्वराजाको राज, राजतन्त्रको पक्षमा खुलेआम नाराबाजी
त्रिशुलीखबर
March 14, 2019


मलंगवा, ३० फागुन । ‘मधेस मिसन’ बारे मानिसहरूको अामधारणा फरकफरक छन् । कसैले भारतसँग जोडेर चर्को तर्क गर्छन् त कसैले यूरोपियन यूनियनलार्इ धारे हात लगाउँछन्, एकताका चीनसँग पनि विषय जोडेर चर्चा गरिन्थ्यो ।

नेपाली राजनीतिक दलहरूका अाअाफ्नै रणनीति र कार्यनीतिहरू छन् । उनिहरूका फरकफरक धार र दृष्टिकोणका कारण पनि मधेस चर्चामा रहिरहन्छ ।

अहिले मधेस तातेको सीके राउतका कारणले होइन, न कुनै राजनीतिक दलका कारण वा गर्मी माैसमका कारणले नै हो । हिजोअाज मधेस तात्नुको प्रमुख कारण पूर्व राजा हुन्, पूर्वराजा ज्ञानेन्द्र शाहको तीर्थाटनका कारण अहिले मधेस प्रचण्ड तापमा छ ।

विहीबार मधेसको राजधानी जनकपुरबाट सर्लाहीको मलंगवा निस्कने क्रममा पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा एक प्रकारको जनउभार नै देखियो । ज्ञानेन्द्रको भ्रमणमा खुलेआम राजतन्त्रको पक्षमा नारा लाग्नुका साथै ब्यानरमा उनलाई ‘महाराजधिराज सरकार’ भनेरै सम्वोधन गरिएको पाइयो । यद्यपि पूर्वराजा ज्ञानेन्द्रले जनताको र देशको भलो होस् भन्नेबाहेक आफूसँग अरु स्वार्थ नरहेको बताउन छुटाएका छैनन् ।

बुधबार बेलुका झापाबाट आफैंले गाडी चलाएर स्थलमार्ग हुँदै जनकपुर पुगेका पूर्वराजाको यो भ्रमणलाई धार्मिक भनिए पनि उनले ठूलो संख्यामा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । सर्लाही जिल्लामा पुग्दा जिल्लाका सरकारी अधिकारी एवं जनप्रतिनिधिले समेत पूर्वराजासँग भेटवार्ता गरे ।

विहीबार अपरान्ह २ बजे जनकपुरबाट मलंगवा जाने क्रममा पूर्वराजाले कम्तिमा एक दर्जन स्थानमा ओर्लेरै जनतासँग सम्वाद गरे । धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी लगायतका स्थानमा सयौंका संख्यामा स्थानीय बासिन्दाले पूर्वराजाको स्वागत गरेका थिए । हातमा फूलमाला र राष्ट्रिय झण्डा बोकेका मधेशी महिलाहरुसँग पूर्वराजाले छोटोछोटो सम्वादसमेत गरेका थिए । पूर्वराजालाई हेर्नका लागि ठाउँठाउँमा सडक किनारामा सयौं जनता उभिएका थिए । उनीहरुले पूर्वराजालाई हात हल्लाएर अभिनन्दन गरेका थिए भने समर्थकले ‘राजा आऊ, देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।

मलंगवामा पूर्वराजालार्इ भेट्न र छुनका लागि सर्वसाधारणको तँछाड मछाड चलेको थियो । भिड नियन्यन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको दृश्य देखिन्थ्यो । स्थानीय प्रशासनले पूर्वराजाको सुरक्षार्थ र भीड नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । जनताको स्वागत छिचोल्दै दूर्गा भगवती मन्दिरमा प्रवेश गरेका पूर्वराजाले करिव १० मिनेट विशेष पूजाअर्चना गरेका थिए ।

पूर्वराजा पूजाआजा सकेर फर्किँदा सडकमा झन् ठूलो भीड लागिसकेको थियो । यो भीड पूर्वराजा आउने हल्लासँगै स्वस्फूर्त रुपमा आएको स्थानीयको दाबी छ । मलंगवा बजारमा पूर्वराजाको स्वागतार्थ ब्यानरहरु टाँगिएका थिए । स्थानीयले पूर्वराजालाई राजतन्त्र हटेपछि मधेसले दुःख पाएको भन्दै हिन्दू धर्मको रक्षाका लागि राजा पुनः आउनुपर्ने बताएका थिए । पूर्वराजा शाहले भने मुन्टो हल्लाउने बाहेक कुनै प्रतिक्रिया दिएनन् ।

पूर्वराजाले मलंगवाकै जानकी पार्टी प्यालेसभित्र केहीबेर आराम गर्दा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र मलंगवाका मेयर लगायतले भेटघाट गरे । भेटका क्रममा पूर्वराजाले मधेसको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

४ दिनका लागि जनकपुर आइपुगेका पूर्वराजाले शुक्रबार साँझ रामजानकी मन्दिरमा विशेष पूजाअर्जना गर्ने कार्यक्रम रहेको पूर्वराजाका निजी सचिव फणिराज पाठकले बताएका छन् । जनकपुरमा ठूलो संख्यामा सर्वसाधारण पूर्वराजाको स्वागतमा आउने दाबी पूर्वराजाका समर्थकहरुले गरेका छन् ।

पूर्वराजा शनिबार उदयपुरको गाईघाट र आइतबार सप्तरीको छिन्नमस्ता दर्शनपछि झापा फर्किने कार्यक्रम छ ।

पूर्वराजाले मधेसमा आफ्नो पक्षमा माहौल बनाउन खोजेको आँकलन यहाँका नागरिक अगुवाहरुले गरेका छन् ।

टिप्पणी लेख्नुहोस्