सीके राउत सम्झाैता र बिप्लवमाथिको प्रतिबन्ध, उल्टो कामः रमेश महत
त्रिशुलीखबर
March 15, 2019


काठमाडाैं । नेपाली काँग्रेस नुवाकोटका नेता रमेश महतले प्रधानमन्त्री केपी शर्मा अोलीले उल्टो काम गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले, ‘अाेली सरकारले गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्दैछ,’ भनी टिप्पणी गरेका छन् ।

यस साता सरकारले गरेका दुर्इ वटा निर्णयहरू अति नै महत्वपूर्ण रहेको भन्दै महतले यसमा अोली सरकारले प्रभावको विष्लेषण नगरेको अारोप लगाएका छन् । उनले सञ्जालमा लेखेका छन्, ‘मुलुकमा पर्ने राजनितिक प्रभावकाे बिष्लेषण हुनु जरुरी छ ।’

उनले मुलुक विखण्डनकाे नारा बोकेर हिंडेको सीके राउतसँगकाे सम्झाैता र बिप्लव नेतृत्वको नेकपालार्इ लगाएको राजनीतिक प्रतिबन्ध सरकारले गरेको उल्टो काम भएको पनि भनेका छन् । ‘यि दुवै निर्णयकाे राजनितिक विष्लेषण गर्ने हाे भने सरकारले गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काम गरिरहेकाे छ भन्ने कुरा बुझ्न सकिन्छ,’ महतले अगाडी लेखेका छन्, ‘सीके राउतसँग सरकारले गरेकाे सम्झाैताकाे सर्वत्र विराेध भएकाे छ, यद्दपी सत्तारुढ दलकै सांसद र केन्द्रीय समिति तथा स्थायी समिति कै सदस्यहरुकाे अालाेचना सरकारले खेप्नु परेकाे छ ।’

मुलुकले फेरि हिंसाकाे राजनिति थेग्न नसक्ने भन्दै उनले यदि हत्या हिंसाकाे अवस्था श्रृंजना हुँदै जाने हाे भने मुलुक राजनितिक र अार्थिकरुपले अत्यन्त कमजाेर बन्ने पनि बताएका छन् । यस्तै अवस्था भए ‘मुलुकमा अराजकता र वाह्य राजनितिक प्रभाव बड्दै जाने,’ उनको तर्क छ ।

यस्ता गतिविधिबाट सरकार असफल भएको संकेत गरेको दावी गर्दै महतले लेखेका छन्, ‘निर्मला हत्या काण्ड, ३३ किलो सुन काण्ड, वाइड वडी वाेइङ काण्ड, बढ्दाे मंहगी, थेग्नै नसक्ने कर जस्ता सरकारका एक वर्षका अत्यन्त अलाेकप्रिय कामहरुका कारण अामजनता अाक्राेसित छन्, जसकाे फाइदा हिंसात्मक राजनितिमा लाग्नेहरुका लागि पुग्नेछ । तसर्थ, सरकारले समयमै शुसासनकाे प्रत्याभूती, हावादारीभन्दा यथार्थपरक विकास निर्माण, मंहगी नियन्त्रण, करकाे बोझबाट अामनागरिकलार्इ मुक्त बनाउनु, शान्तिसुरक्षाकाे सुव्यवस्था, सहज दैनिक जनजीवनकाे व्यवस्थापन गर्नुपर्छ ।’

यसोगरे मुलुकमा सहज राजनितिक वातावरण श्रृंजना हुने उनको दावी छ ।

टिप्पणी लेख्नुहोस्