पूर्व मुमा बडामहारानी रत्न डिस्चार्ज
त्रिशुलीखबर
March 18, 2019


काठमाडाैं, ४ चैत्र । विगत १३ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् । पूर्व युवराज पारस शाह हजुरआमालाई रिसिभ गर्न अस्पताल पुगेका थिए ।

राजपरिवारका पूर्व सदस्यहरू पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए ।

रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । रत्नकै हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमणमा समेत सहभागी भइनन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक फणि पाठकले दिएको जानकारी अनुसार रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

पातलो दिशा हुने र पिसाब कम हुने, रुघा, खोकी लगायतले ग्रस्त भएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो । उनको डा.खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेखदेखमा उपचार भएको पाठकले बताए ।

टिप्पणी लेख्नुहोस्