एक सिक्का खसाल्नुस्, प्याड लिनुस् !
त्रिशुलीखबर
March 18, 2019


भैरहवा । महिनावारी हुनु शारिरिक अवस्था हो । नेपालका कतिपय छात्राहरू यस अवस्थामा विद्यालय जान सक्दैनन् । अध्ययनहरूका अनुसार एक छात्रा एक पटक ‘नछुने’ हुँदाको अवस्थामा करिब ४–५ दिन पठनपाठन अवरूद्ध हुनेछ । यस्तो समस्या ग्रामीण भेगमा उच्च छ ।

तर, एक गाउँको विद्यालय– बुद्धज्योति माध्यमिक विद्यालयले भने अाफ्ना छात्रा विद्यार्थीका लागि महिनावारीको समस्याबाट मुक्त हुन सघाएको छ । जसका लागि छात्राले एक सिक्का मेसिनमा खसालीदिए पुग्छ ।

भैरहवास्थित यस विद्यालयले आफ्ना विद्यार्थीलाई लक्षित गरी एक सिक्का भेन्टिङ मेसिनमा खसालेपछि स्वचालित रूपमा स्यानिटरी प्याड निस्किने व्यवस्था गरेको छ ।

यसअघि पनि छात्रालाई प्याड दिने गरेको भएपनि आवश्यक परेको तर शिक्षिका नभएको बेला विद्यार्थीले प्याड माग्न गाह्रो मान्ने भएकाले यस्तो व्यवस्था गर्नु परेको विद्यालयका कार्यक्रम संयोजक प्रतीक मल्लको भनाइ छ । स्वचालित मेसिन राखेपछि भने छात्रालाई न कसैसँग प्याड माग्ने झन्झट छ, नत ठूलो रकमको खर्च । एक रुपैयाँको सिक्का पनि विद्यालय आफैंले उपलब्ध गराउँछ । मल्लले भने, ‘आवश्यक परेको बेला छात्राहरूले मेसिनमा सिक्का खसाल्छन् र प्याड लिएर जान्छन् ।’

दुर्इ सय ७० छात्रा अध्ययन गरिरहेको यस विद्यालयमा यसअघि महिनावारीकै कारण पठनपाठनमा समस्या देखियो । जसले गर्दा छात्राको पढाइमा असर गर्यो । यसबाट बचाउन र स्वस्थ भइरहन पनि मेसिनको अावश्यकता परेको मल्लको कथन छ । जसले गर्दा धेरै सजिलो भएको कक्षा ९ मा अध्ययनरत छात्रा सदिक्षा घिमिरे बताउँछिन् ।

‘पहिला कसरी विद्यालय जाने, समस्या परे के गर्ने होला ? जस्ता कुराले स्कुल जानै डर लाग्थ्यो’, उनले भनिन्, ‘अहिले मेसिन भएपछि धेरै सजिलो भएको छ।’

रोटर्‍याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहयोगमा ४० हजार रुपैयाँ लागतमा विद्यालयमा मेसिन राखिएको हो । मेसिनमा एक पटकमा ७५ वटासम्म प्याड राख्न सकिन्छ ।

रोटर्‍याक्ट क्लबका अध्यक्ष ईश्वर भट्टराईले भने, ‘यो कार्य अत्यन्त प्रभावकारी भएको छ, अब हामी जिल्लाका अन्य सामुदायिक विद्यालयमा समेत मेसिन जोड्ने योजनामा छाैं ।’

टिप्पणी लेख्नुहोस्