पूजा शर्मालाई चुम्बन गर्दै ‘बरुण धवन’
त्रिशुलीखबर
March 18, 2019


कलिउड । नायिका पूजा शर्मा यतिखेर ‘सम्हालिन्छ कहिले मन’ फिल्म शुटिङको क्रममा लण्डनमा छिन् । शुटिङको क्रममा पूजाले बलिउडका अहिलेका ब्यस्त नायक वरुण धवणलाई भेटेकी छिन् ।

वरुणसँग खिचाएको फोटो पूजाले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् । फेसबुकमा फोटो राख्दै पूजाले लेखेकी छिन्, ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट ।’ फोटोमा पुजा निकै खुशि देखिएकी छन् । तस्वीरमा वरुणले पूजाको शिरमा चुम्बन गरेको देखिन्छ ।

वरूण धवनसँग पुजा शर्मा

अभिनय र सुन्दरताको कारण दर्शकको माया पाउन सफल नायिका पूजा शर्मा रामकहानी पछि पूनः आकाश श्रेष्ठसँग फिल्म ‘सम्हालिन्छ कहिले मन’ शुटिङको क्रममा लण्डनमा छिन् ।

करिब एक दशक अघि, पूजा शर्मा भर्खर एसएलसी दिएर बसेकी थिइन् । गायक सुगम पोखरेलकी फ्यान थिइन् उनी । जसरी पनि सुगमको भिडियो अभिनय गर्ने उनको ठूलो धोको थियो । भिडियो अभिनय व्यवस्था मिलाइदिन घरमा उनी आग्रह गर्थिन् । रुन्थिन्, चिच्याउथिन्, घर छोडेर हिँड्ने, अध्यायन अगाडि नबढाउने जस्ता कुराले धम्क्याउँथिन् । पूजाले अभिनय यात्राको सुरुवात सम्झिइन्– ‘मेरो कुराले आमालाई टेन्सन भएछ । उहाँले राजेश वंशलमार्फत भिडियो अभिनय व्यवस्था मिलाइ दिनुभयो ।’

राजेश वंशल म्युजिक डटकमका मालिक थिए । त्यति बेलाको टप थ्री म्युजिक कम्पनीमध्ये यो एक थियो । उनकी आमालाई राजेशसँग पूजाको म्युजिक भिडियो अभिनय चहाना राख्न कुनै कठिनाइ परेन । ‘राजेश नाताले मेरो कजन थिए’– उनले भनिन्– ‘पुरै फ्यामिली मिलेर राजेशलाई सुगमको भिडियो खेलाउन प्रेसरसमेत दियौँ ।’

पूजाको परिवारको प्रेसरका अगाडि राजेशको केही चलेन । राजेशले उनलाई भिडियो अभिनय गराउनका लागि गायक सुगमका अगाडि राखिदिए । उनी त्यतिबेला बलिउड कलाकार शाहरुख खानकी फ्यानसमेत थिइन् । ब्वाइज कट बनाएकी उनी कुनै एङ्गलबाट पनि केटा जस्तो देखिँदैन थिइन् ।

‘जब म भिडियो अभिनयको सिलसिलामा सुगमका अगाडि परेँ । मलाई देखेर सुगम तर्सिनुभयो,’ उनले सुनाइन् । सुगम तर्सिनुको पनि कारण रहेछ । उनी त्यति बेला हिपअप पाइन्ट लाउँथिन् । हेरस्टाइल पनि केटाकै थियो । मेकअप त परै जाहोस् उनलाई नेल पालिससमेत लगाउन आउँदैन थियो । उनी बिना मेकअपमा सुगमको अगाडि उभिएकी थिइन् । त्यतिबेला उनी केटा जस्तो देखिन्थिन् ।

भिडियोमा राख्नुपर्ने प्रेसरका कारण सुगमले केही बोलेनन् । बोलुन् पनि कसरी ! एक त म्युजिक कम्पनीको दबाब, अर्काे कुराकानीको क्रममा सुगमले गीत सुन्दै उनले हात काटेको यर्थाथ थाहा पाइसकेका थिए ।

सुगमले मौन रहेर स्विकृति दिए । उनले पनि आफ्नो हेयर स्टाइल चेन्ज गरेर केटी देखिने गेटअप बनाइन् । अन्य सबै व्यवस्था राजेशले मिलाइदिए । उनी म्युजिक भिडियोमार्फत अभिनयमा डेब्यु गर्न सफल भइन् ।

‘केटा बनेर हिँड्ने म केटी बनेर म्युजिक भिडियो अभिनय गरेँ,’ पूजा गफिँदै थिइन् । म्युजिक भिडियो अभिनयपछि केही टेलिचलचित्र खेल्ने अवसर पाएकी उनले हिमालय टेलिभिजनमा काम गर्ने अवसरसमेत पाइन् । टेलिभिजनका सिइओ नारायण पुरीले उनलाई ‘रोड सो’ कार्यक्रम निर्माण सञ्चालन जिम्मा लगाए । विभिन्न विदेशी टेलिभिजनको ‘रोड सो’ हेरेर उनले कार्यक्रम बनाइन् । कार्यक्रमले छिट्टै चर्चा पायो । सँगै उनले टेलिभिजनबाट चलचित्र रिपोटिङको थप जिम्मेवारी पाइन् ।

‘रिपोर्टिङमा जाने क्रममा निर्देशक सुदर्शन थापासँग भेटे भयो,’ उनले ती दिन सम्झिइन्, ‘भेट बाक्लिदै जाँदा सुदर्शनले म नयाँ चलचित्र ‘मधुमास’ बनाउँदैछु भन्नुभयो । त्यतिबेला निर्देशक थापाले मेरो चलचित्र अभिनय चाहना थाहा पाइसक्नु भएको रहेछ ।’ चलचित्रको अफर आउँदासमेत उनी अभिनयको विषयमा केही जानकार थिइन् । रहरले एक म्युजिक भिडियो खेलेको बाहेक अन्य अनुभव पनि उनीसँग थिएन । न त टेलिभिजनमा काम गर्ने सिलसिलामा चलचित्र अभिनय अफर आउँछ भनेर सोचेकी नै थिइन् ।

‘अभिनय मेरो बसमा पनि थिएन । जानेको र पढेको पनि थिइन,’ पुजाले बताइन् ।

टेलिभिजन रिपोर्टिङका क्रममा निर्देशक सुदर्शन थापासँगको उनको भेट बाक्लिँदै गयो । भेटमा चलचित्रको गफ हुन थाल्यो । ‘गफैगफले ममा अभिनय मोह पलायो । अभिनयका लागि म रेडी भएँ,’ उनले भनिन्, ‘निर्देशक थापाले पनि मलाई अभिनय कक्षामा हालिदिनुभयो । मधुमासबाट मेरो चलचित्र यात्रा सुरु भयो ।’

मधुमासमा उनले अभिनेता आर्यन सिग्देलसँग स्क्रिन सेयर गर्ने अवसर पाइन् । ‘पहिलो पटक अभिनय गर्दा म एकदैम एक्साइटेट थिए । किनभने आर्यन मलाई मनपर्ने हिरो थियो,’ उनले थपिन्, ‘एक्साइटेट हुँदैहुँदै चलचित्र अभिनय गरेकी थिएँ । बेष्ट डेब्यु अभिनेत्रीको अवार्डसमेत हात पारेँ ।’

अवार्डले उनलाई तुरुन्तै अर्काे चलचित्र दिलायो । चलचित्र थियो ‘अझै पनि’ । निर्देशक सुदर्शन थापा र आलोक नेम्वाङले उनलाई यो चलचित्रका लागि पत्याए थिए । ‘पत्याउनुको कारण मधुमासमा मैले गरेको राम्रो अभिनय थियोे’, उनले भनिन् ।

‘अझै पनि’ अभिनय उनका लागि त्यति सहज भने थिएन । यसका निर्देशक आलोक नेवाङ निकै ट्यालेन्ट थिए । डरैडरमा उनी अभिनयमा होमिइन् । चलचित्रका लागि उनले धेरै दुःखसमेत गर्नुपर्यो । एक एक पेजको संवाद बोल्नेदेखि एक महिना वर्कसपसम्मको मिहिनेत उनले गरिन् । ‘आफूलाई भाग्यमानी मान्छु । मैले आलोक नेम्वाङसँग काम गर्ने अवसर पाएँ,’ उनले गर्व गरिन् । अझै पनिका निर्देशक आलोकको यो तेस्रो चलचित्र थियो । कलाकारलाई हँसाएर काम गर्ने शैलीमा अलोक माहिर थिए । अालोकको यो बानी उनले अहिलेसम्म पनि भुल्न सकेकी छैनन् । ‘मलाई धेरै माया गर्नुहुन्थ्यो, हाम्रो झगडा हुन्थ्यो, माया हुन्थ्यो, आलोक दाइसँग अर्कै अट्याचमेन्ट थियो ।’

स्वर्गीय निर्देशक आलोकको कुरा गर्दै जाँदा पूजाका आँखा रसाए । ‘एक सातादेखि आलोक दाइले मेरो फोन उठाउनुभएको थिएन,’ उनी त्यो दिन सम्झँदै थिइन्– ‘म उहाँले किन फोन उठेन भेनर हैरान थिए । सोधखोज गर्दा उहाँले आत्महत्या गरेको थाहा पाएँ । सुन्ने बित्तिकै छाँगाबाट खसेजस्तो भएँ । तुरुन्त उहाँको घर गएँ,’ उनले थपिन्– ‘भित्र जान कसैले दिएन । उहाँको मृत्युले सारै मन दुख्यो, म धेरै रोएँ । आफ्नो चलचित्रका अभिभावक हुनुहुन्थ्यो । उहाँको मृत्युले चलचित्रको व्यवसाय पनि राम्रो भएन ।’

अझै पनिपछि उनले ‘चङ्खे शङ्खे पङ्खे’ अभिनय अवसर पाइन् । सुदर्शन थापा निर्देशक रहेको यो चलचित्रका निर्माता सन्तोष सेन थिए । सन्तोष सेनले चलचित्रका लागि एक हिरो ल्याएका थिए । उक्त हिरो राख्नुपर्ने प्रेसरले चलचित्रको कथा नयाँ बनाइयो । तीन हिरो र तीन हिरोइन रहने कथा बन्यो । यसमा उनी रिपोर्टरको भूमिकामा थिइन् । ‘चलचित्रको छायाङ्कन सिलसिलामा मेरो अभिनय निर्माता सन्तोष दाइलाई चित्त बुझेछ क्यार । चलचित्र नसकिँदै नयाँ चलचित्र ‘प्रेम गीत’का लागि फाइनल गर्नुभयो,’ पूजाले सुनाउँदै गइन्, ‘नायिकामा छनौट भएपछि निर्देशक सुदर्शनजीले मेरो हाउभाउ अनुसारकै कथा ‘चङ्खे शङ्खे पङ्खे’को सुटिङ सेटमै तयार गर्नुभयो ।’

‘प्रेम गीत’ले उनको अभिनय करियरमा हाइट दिलायो । ‘प्रेमगीत मेरो अभिनय जीवनकै टर्निङ प्वाइन्ट हो । दर्शकले मलाई पूजा शर्मा भनेर यसै चलचित्रबाट चिनेका हुन्’– उनले भनिन् ‘यो चलचित्रकबाट मैले पाएको जस्तो चर्चा र सफलता सायद कुनै कलाकार पाउँदैन होला ।’

प्रेम गीतमा उनी गीतको चरित्रमा थिइन् । प्रेमको भूमिकामा अभिनेता प्रदीप खड्का थिए । चलचित्रको दोस्रो हाफमा उनको छायाँ नामको अर्काे चरित्र पनि थियो । उनी अहिले ‘म यस्तो गीत गाउँछु’को कारणले चर्चामा छिन् । शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रको विषय पनि प्रेमकथा नै छ । प्रेमगीतभन्दा फरक कथा यसले बुनेको प्रचार गरिएको छ । प्रेम गीत हेरेर चलचित्र यस्तो हुनुपर्ने भन्ने दर्शकबाट आएको सुझावसमेत चलचित्रमा समेटिएको उनले बताइन् ।

फेसनको मावलमा सामान्य रहेकी उनी ‘पाइट र टिसर्ट बढी लगाउँछिन् । एक्लै चलचित्रको निर्माण गर्ने अहिले पलाएको उनको सपना हो । मुड अनुसारको सङ्गीत सुन्न मन पराउने उनी खुसीमा ‘लभ सङ’ र रिसमा ‘स्याड सङ’ रुचाउँछिन् । अन्जु पन्त र सुगम पोखरेल उनका मनपर्ने गायका गायिका हुन् । गीत भने उनले गायक सुगमको ‘सम्हालिन्छ कहिले मन’ मन पराउँछिन् । भनिन् ‘यो गीतसँग आफ्नो जीवनकथा मिल्छ ।’

उनी जति सफलछिन् उतिनै खुल्नेपनि गर्छिन् । उनलार्इ माया गर्नेसँग गफिन र रमाइलो गर्न अाैधी मनपर्छ ।

टिप्पणी लेख्नुहोस्