अजय सुमार्गीको जग्गा, प्रतिबन्धित नेकपाको कब्जा !
त्रिशुलीखबर
March 23, 2019


काठमाडौं, ९ चैत्र । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जालसाझी गरेर अर्कैको जग्गा आफ्नो नाममा गरेको भन्दै ब्यापारी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ ।

पीडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा उजुरी गरेपछि व्यापारी सुमार्गीको जग्गा कब्जाको गरेको नेकपाले जनाएको छ । शनिबार पोखरा महानगरपालिका शिशुवामा रहेको सुमार्गीको नामको २५ रोपनी जग्गा नेकपाले कब्जा गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

उसले भ्रष्टाचारी, दलाल र भूमाफियाको जग्गा कब्जा गर्ने पार्टीको नीति अनुरूप गरेको दावी गरेको छ ।

सुमार्गीको स्वामित्वमा रहेको मुक्तिश्री प्रा.लि.ले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने कित्ता नं.२९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ७१६, २१६७, २१७१, २१७५, २६३५, २८९६, २८९९ रहेको कूल २५ रोपनी क्षेत्रफल भएको जग्गा थाहा नदिई आफ्नो नाममा गरेको भन्दै नेकपा कास्कीमा उजुरी परेपछि कारवाही गरेको नेकपाको भनाइ छ ।

जग्गा पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई सुमार्गीले आफ्नो नाममा गरेको उसले दाबी गरेको छ । पीडित परिवारले व्यापारी सुमार्गी वास्तविक जग्गावालाको सम्पर्कमा नआएको तथा बिना जानकारी धानबालीमा डोजर चलाएको र तारवारसमेत लगाएको आरोप लगाएका छन् ।

न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदनको आधारमा छानविन गर्दा पीडित पक्षलाई न्याय दिनका लागि जग्गा कब्जा गरेको नेकपा कास्कीले बताएको छ । कब्जा घोषणा गरिएको जग्गा किनबेच, भोगचलन तथा बैङ्किङ कारोबार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण, ब्यवसायी, लेखापढी व्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागी नहुन नेकपाले विज्ञप्तीमार्फत अनुरोध समेत गरेको छ ।

यसअधि नेकपाले पोखराको न्यूरोडस्थित एक बिबादित जग्गामा डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको थियो ।

त्यतिबेला पनि सोजग्गाका हकवाला कृष्ण थापाले न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको आफ्नो ९ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णुप्रसाद श्रेष्ठले हडपेको भन्दै नेकपाको जनपरिषद्‍मा उजुरी दिएका थिए ।

यसअघि देखिनै सुमार्गी अबैध कालोधन धुपारेको भन्दै पटकपटक विवादमा तानिएका व्यक्ति हुन् । उनलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो वरियताका अध्यक्ष प्रचण्डले संरक्षण गर्दै आएको आरोप लाग्ने गरेको छ ।

प्रेस विज्ञप्तीः

टिप्पणी लेख्नुहोस्