मन्त्री बिना मगरका पूर्वपति पक्राउ
त्रिशुलीखबर
March 23, 2019


काठमाडाैं, ९ चैत्र । प्रहरीले खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारीलाई पक्राउ गरेको छ ।

पत्निसँग बिछोड भएपछि अधिकारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा थिए ।

उनलाई पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसँगै प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्रेको हो ।

बिनाले बहुविवाह गरे पनि अधिकारीसँग औपचारिकरुपमा पारपाचुके गरेकी छैनन् । उनले स्व. प्रकाश दाहालसँग दोश्रो बिवाह गरेकी हुन् । प्रचण्डकी बुहारी भएकाले मन्त्री पाउन सफल भएको भनी उनको पटकपटक आलोचना हुने गरेको छ । तर, बिना अनबरत राजनीतिको परिणाम भएको बताउँछिन् ।

बिनाका पूर्वपति अधिकारी यसअघि मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी) हुँदै प्रतिबन्धित नेकपामा आवद्ध भएका व्यक्ति हुन् ।

२०६६ सालमा अधिकारी र मगरको प्रेम विवाह भएको थियो । पुष्पकमल दाहालका छोरा साकार दाहाल ‘प्रकाश’सँग सगरमाथा चढ्ने क्रममा मायाप्रेम भएपछि शंकर अधिकारी र बिना मगर छुट्टिएका थिए । बिना मगरले शंकर अधिकारलाई छाडेर २०६९ सालमा प्रकाशसँग विवाह गरेकी थिइन् ।

अधिकारीले त्यसपछि एउटा अखबारमा अन्तर्वार्ता दिँदै बिनाले प्रकाशसँग हिँडेको थाहा पाउँदा आफु चकित परेको प्रतिक्रिया दिएका थिए ।

प्रहरीले काभ्रेको खानीखोला–७ बाट बा १७ च ४८९३ नम्बरको स्कारपियोमा नेता सुदर्शनसहित ९ जनालाई पक्राउ गरेको थियो । सुदर्शन र अधिकारीसहित धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्कालाई पनि प्रहरी नियन्त्रणमा लिएको थियो ।

 

टिप्पणी लेख्नुहोस्