मेरा प्रिय सम्पादकहरू !
कृष्ण कुसुम
March 23, 2019



– कृष्ण कुसुम

एउटा कच्चा मान्छेलाई लेखक बनाउन पत्रिकाका सम्पादकहरुको महत्व कति हुन्छ भन्ने कुरा त्यति बहसमा आउँदैन । सधैं हतारमा रहने सम्पादकहरुका अघि छेऊ न टुप्पोका लेख रचनाहरु आउँदा कति तनाब हुन्छ र लेख्न नजाने पनि उठाएका राम्रा विषयलाई उनीहरुले हतारमै मिलाएर कसरी चिरिच्याट्ट पारिदिन्छन् भन्ने खोज गर्नु मनासिब छ ।

यो लेखमा मैले त्यो खोज गर्ने प्रयास गरेको छैन । तर, म सामान्य रहरे व्यक्तिबाट आज कसरी लेखक भएँ भन्ने कुरा सम्झन मन लागेको छ । यो लेख म र म जस्ता धेरै सिकारुलाई लेखक बनाउन सघाइरहेका पत्रपत्रिकाका ती गुमनाम सम्पादक, डेस्क इडिटरहरुमा समर्पित छ ।

स्कुलका केही भित्तेपत्रिका बाहेक पहिलोपल्ट मैले आफ्नो नाम ०५७ वैशाख ४ गते जिल्ला समाचारअन्तर्गत एक राष्ट्रिय दैनिकमा देखेको हुँ, कक्षा ९ पढ्दै गर्दा नुवाकोट जिल्ला स्तरीय कवितामा दोस्रो भएको कविका रुपमा ।

आफ्नो नाम राष्ट्रिय पत्रिकामा देख्दा ढक्क फुलेथ्यो छाती । सायद पहिलो पटक हरेक लेखक–कविलाई आफ्नो नाम देख्दा यस्तै हुन्छ । त्यही बेलादेखि मलाई आफ्ना रचना पत्रिकामा पठाउन मन लाग्न थाल्यो । र, आफूलाई पढन्ते देखाउन ईश्वरवल्लभको स्तम्भ नियमित पढ्न थालेको थिएँ । त्यही नक्कलपछि इन्जिनियरिङ्ग पढ्न पोखरा बस्दा साहित्य पढ्ने बानीमा परिणत भयो । ‘नक्कल पनि असल कुराको गर्नुपर्छ’ भनेर ठूलाबडाले त्यसै भनेका होइनन् रहेछन् ।

०५८ तिर साहित्यिक पत्रिकाहरु मधुपर्क, गरिमा र नवयुवाको नियमित ग्राहक–पाठक भैसकेको थिएँ । पढ्ने पत्रिकाहरुको आफंै ग्राहक हुनुपर्छ भन्ने छैन, म पनि थिइनँ । म मधुपर्क नियमित किन्थेँ । त्यो पत्रिका देखाएर गरिमा र नवयुवाको ग्राहक बन्न छेऊको कोठामा बस्ने मित्र योगेन्द्र थापालाई उकास्थेँ । केही महिनापछि उनी गरिमा र नवयुवाको ग्राहक भए ।

त्यसरी दुई भाइ मिलेर किनेका तीनवटा पत्रिका पढेर महिना बित्थ्यो । पढेका रचनाको विषयमा छलफल गर्ने, आफ्ना रचना एकअर्कालाई सुनाउने र प्रतिकृया दिने/लिने गरिन्थ्यो । योगेन्द्र कविता, मुक्तक राम्रो लेख्थे । तर, प्रकाशन हुँदैन भन्ने भयले कहिल्यै पत्रिकाको ठेगानमा ती रचना पठाएनन् । उनलाई अज्ञात सम्पादकहरुको डर थियो । यही डरले मलाई पनि सताइरहन्थ्यो ।

मधुपर्कमा नव प्रतिभाहरुलाई स्थान दिने ‘आँकुरा’ नामक नियमित स्तम्भ थियो । म स्थापित लेखकहरुका सामग्री पढेर आनन्द लिदै आफु आँकुरामा छापिन लायक रचना गर्न सक्छु कि सक्दिनँ भनेर सधैं हेर्ने गर्दथें । त्यसमा छापिएका कतिपय कमसल रचना हेरेर केही पठाइहाल्न मन लाग्थ्यो । तर, डर लाग्थ्यो, तिनै अज्ञात सम्पादकहरुको ।

एकपल्ट आँकुराका रचनाहरु पढ्दै थिएँ, पहिले मसँगै पढेको साथिको सामान्य कविता पूरा ठेगानका साथ छापिएको देखेँ । मलाई एकसाथ खुसी र डाहले समात्यो । उसको रचना मैले लेख्ने कविता–गजलको तुलनामा सामान्य लाग्नु सायद मेरो मनोविज्ञान थियो । लाग्यो, ऊ पो काठमाडौं बस्छ र चिनजानका आधारमा छापियो । म यहाँ पोखरामा छु, मेरो रचना के छाप्थे र ?

विद्यालयमा कमै लेख्ने साथीको रचना चर्चित पत्रिकामा छापिनु, विद्यालयमै कवि कहलिएको मेरा सामग्रीहरुले अहिलेसम्म पत्रिकाको मुख नदेख्नु दुःखदायी कुरा थियो । आफ्नो रचना कसरी छपाउने त ? मलाई खुल्दुली र छट्पटी हुन थाल्यो ।

जाडो बिदा पारेर काठमाडौँ आएको बेला एकसाँझ बालाजुको माछापोखरी चोकमा त्यही साथी भेटियो । डाह र उत्साहले भनिहालेँ, ‘तिमी त ठूलो कवि भैसकेछौ यार ! त्यस्तो चर्चित पत्रिकामा कसरी छाप्यौ कविता ?’

‘५–७ महिनाअघि एकजना साथीको हातमा पठाएको थिएँ, छापिएछ । राम्रो भए आफैं छापिन्छ रे ।’

उसको सामान्य उत्तरले म खङ्ग्रङ्ग भएँ ।

त्यसपछि त के थियो, हरेक चार, छ दिनमा मधुपर्क, नवयुवा, बिमोचन, रेडियो नेपाल सबैमा गीत, कविता र गजल पठाउन थालेँ । हरेकपल्ट ती पत्रिका हेर्थें । आजको जस्तो आजको भोलि छापिने माध्यम थिएन । ती मासिक पत्रिकामा दुई चार महिनापछि छापिँदा मैले लेखेको भाव परिवर्तन भैसक्थ्यो ।

रेडियो नेपालबाट भने केही दिनमै कविता, मुक्तक र गजलहरु प्रशारण हुन थाले । यसले राहत दिन्थ्यो । अज्ञात सम्पादकहरु विस्तारै देवता प्रतीत हुन थाले । उनीहरुले स्तरीय रचना क्रमसँगै छाप्ने रहेछन् । त्यसका लागि सोर्सफोर्स जरुरत पर्दैन भन्ने पनि महसुस गर्दै गएँ ।

०६१ कात्तिकमा ओभरसियर लेभलको पढाइ सकेर काठमाण्डौँ आएँ । दशैँ तिहारको विदामा एकजना साहित्यिक कार्यकर्ताको खुबै पछि लागियो । कार्यकर्ता किन भने उनको लेखन गतिलो थिएन । तर, सधैं साहित्यिक कार्यक्रममा जान्थे । उनको अरु काम पनि थिएन । हरेक बिहान खाना खाएर अफिस हिँडेजस्तो निस्क्यो अनि एकैपटक साँझमा घर फर्कने रहेछन् । उनलाई काठमाण्डौँमा कहाँ के कार्यक्रम छ, सबै थाहा हुने, कसैले नबोलाए पनि जाने ।

अन्तिम कात्तिकको कुनै एक दिन पुष्कर लोहनीको घरैमा हाइकु सम्बन्धी गोष्ठी थियो । कार्यक्रमपछि जलपान सित्तैमा । म पनि तिनै कार्यकर्ताको पछि लागेर त्यहाँ पुगेको थिएँ । मनपरेका साहित्यकारहरुको भेला, हाईकुको स्वाद र भोक लागेका बेला सित्तैमा खानेकुरा । साहित्य गोष्ठी यति राम्रो हुन्छ भन्ने कल्पना पनि गरेको रहेनछु । मलाई ठूलो ठाउँमा आइपुगेको भान भयो । त्यही दिन मैले मधुपर्कका अज्ञात सम्पादकमध्ये एकलाई भेटेँ ।

मैले उत्साहित हुँदै आफ्नो पूरा नाम र ठेगाना भनेँ । अचम्म भयो, सम्पादक महोदयलाई मेरा नाम, ठेगाना याद रै’छ । धेरै रचना पठाउने र कम्ति छापिनेमध्ये म एक कच्चा लेखक रहेछु भन्ने त्यसैबेला थाहा भयो ।

सम्पादक महोदयले लेख–रचना पठाउँदै गर्न पनि भने । तर खै किन हो, त्यसपछि मलाई पठाउन मन लागेन । ‘कल्पनाको सम्पादक’ र ‘यथार्थमा आफूजस्तै समान्य मान्छे’ मा फरक पर्‍यो कि ?

त्यसपछिको एक वर्ष मैले मधुपर्कलाई रचना पठाइनँ । बरु कवि समूहमै आफ्नो नाम चिनाउनु पर्छ भन्नेतिर लागेँ । मेरो मनसुवा थियो– कुनै बेला ती सम्पादक भेटे साथीहरुले मेरो सिफारिस गरिदिऊन् । अहिले पो थाहा भयो, रचना स्तरीय भए अरुले सिफारिस गर्नैपर्दैन ।

अर्को बर्ष पुल्चोक इन्जिनियरिङ क्याम्पसमा बीईमा भर्ना भएपछिको खाली समयमा आफू पढेको विद्यालयमा पुस्तकालय खोल्न किताव संकलनमा लागेँ । त्यसका लागि विद्यालयको अनुरोध पत्रसहित गोरखापत्र संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतमा गएँ । त्यो काममा गोरखापत्र संस्थान जाँदा मधुपर्कको कार्यालयमा पनि पसेर ती सम्पादकलाई भेटेँ ।

चिनजान नवीकरण भएपछि उनले लेख रचना भए एउटा छाडेर जान भने । डायरी बोकेर हिँडेको थिएँ । सम्पादकको आग्रहपछि उनकै रोजाइमा एउटा गजल छाडेँ । त्यो अर्को महिना महत्वका साथ त्यो छापियो । अनि बुझेँ, लेखकलाई राम्रो लागेको रचना सम्पादकहरुलाई नजँच्न सक्छ, सम्पादकलाई जुन महत्वको लाग्छ, त्यसमा लेखक उतिसारो आशावादी नहुन सक्छ ।

सम्पादकको चाहना र लेखकले ठानेको उत्कृष्ट रचनाबीच कमै तारतम्य मिल्ने रहेछ । लेखकको आग्रही दिमाग र सम्पादकको आलोचनात्मक दृष्टिकोणबीच तारतम्य मिल्न समय लाग्ने रहेछ र समयले नै मानिसलाई लेखक बनाउँदोरहेछ । सर्त एउटै छ– सम्पादक कति तीक्ष्ण छ ?

सम्पादकको चाहना बुझेपछि त्यसैअनुसार रचना पठाउन थालेँ । त्यसको एक–दुई वर्षभित्र म मधुमर्कमा नियमित छापिने लेखकमा गणना हुन पुगेँ । ०६२ बाट शुरु भएको मेरो मधुपर्कमा प्रकाशित हुने क्रम आज पर्यन्त निरन्तर छ । मलाई यो यात्रामा तान्ने सम्पादक हुन्– तुलसीहरि कोइराला ।

तुलसीहरिले नै म कृष्ण धरावासीसँगको संगत बढाउन सुझाब दिनुूभयो । त्यसपछि फुर्सद हुनेवित्तिकै धरावासी कहाँ हुनुहुन्छ, खोज्दै हिँड्न थालेँ । कुराकानी गर्दा मस्तिष्कले साहित्यका बिऊ उमार्न थाल्यो । त्यो लिएर विभिन्न पत्रपत्रिका जान थालेँ ।

एकपल्ट आफूले लेखेको गजल छोड्न युवामञ्चको कार्यालय छिरें । सम्पादकले मुस्कुराउँदै भने, ‘तपाईं इञ्जिनियरिङको विद्यार्थी हुनुहुँदो रहेछ, यौटा सुझाव दिउँ है ?’

‘हुन्छ नि सर’, म सतर्क भएँ ।

‘गजल, कविता र साहित्य पनि लेख्न नछाड्नुस् तर युवामञ्चका लागि यी गजल, मुक्तक भन्दा कुनै इन्जिनियरिङ सम्बन्धी लेख लेख्नुभए गजब हुने थियो । नयाँ आविश्कार र अरु प्राविधिक कुराहरु लेख्नुस् तुरुन्तै स्थान दिउँला ।’

युवामञ्चका सम्पादकलाई भेटेपछि थाहा भयो– लेख्नुको अर्थ साहित्य मात्र होइन रहेछ । लेख्नुपर्ने, बुझाउनुपर्ने अनेक विषय रहेछन् ।

केही दिनपछि एउटा लेख उनलाई दिएँ । त्योबेला उनले सम्झाए, ‘भाइ, तिमी प्राविधिक विद्यार्थी हौ र लेख्न पनि जानेका छौ भने किन प्राविधिक कुराहरु लेखेर सबैलाई नयाँ कुरा सिकाउँदैनौ ? त्योखाले लेखाइले युवा पुस्तालाई कति काम दिन्छ, आफैं सोच त !’

त्यो लेख त छापियो नै, त्यसपछि मेरो लेखनको दायरा पनि फराकिलो हुन पुग्यो ।

पुल्चोक क्याम्पसमा हरेक साल सिभिल इन्जिनियरिङ प्रर्दशनी र ‘मोडल कम्पिटिसन’ हुन्थ्यो । वायो इन्जिनियरिङ्क उपयोगिताबारे मसहित चार जनाले तयार पारेको मोडल प्रतिस्पर्धामा दोस्रो भयो । मैले त्यो मोडलबारे लेखेर युवामञ्चका तिनै सम्पादकलाई दिएँ ।

त्यो लेख लगत्तैको अंंकमै छापियो । पारिश्रमिक पनि गजल, कविताको भन्दा दोब्बर पाइयो । त्यसबाट उत्साहित भएर इन्जिनियरिङका अरु विषयमा पनि लेख्न थालेँ । केही लेख मधुपर्कको आवरण लेखका रुपमा समेत छापिए । साहित्य मात्र लेख्ने मलाई प्राविधिक विषयमा पनि लेख्न उक्साउने सम्पादक हुन्– पुष्करभक्त माथेमा ।

साहित्य लेखन चल्दै थियो । आफूले थाहा पाएका अरु कुरा पनि सामयिक बनाएर लेख्दा छापिन्छ भन्ने थाहा भयो ।

यसैबीच मेरो मनमा राष्ट्रिय भूकम्प दिवस (माघ २) मा भूकम्पीय सुरक्षा सम्बन्धी लेख गोरखापत्रमा छाप्ने लहड चल्यो । केही समयअघि इञ्जिनियरिङ्ग अध्ययन संस्थानका पूर्वडीन प्रा.डा. जीवराज पोखरेलको अगुवाइमा बिद्यार्थीहरुको एउटा समूहले ढुंगामाटोका घरमा भूकम्पीय असर न्यूनीकरणको अनुसन्धानात्मक प्रयोग गरेको थियो, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका केही गाउँमा । त्यसमा संग्लन दाजुहरुको सहयोगमा त्यो प्राविधिक प्रयोगको विधि र उपयोगिताबारे एउटा लेख तयार पारेँ ।

नेपालमा महाभूकम्प गएको धेरै वर्ष भैसकेको थियो । कुनै पनि बेला अर्को महाभूकम्प आउने कुरा प्राविधिक भएको नाताले हामीले पढेका थियौं । गोरखापत्र संस्थानका अन्य प्रकाशनमा नियमित छापिने लेखक भएकाले मैले भूकम्प सम्बन्धी लेख गोरखापत्र दैनिकमा छाप्ने बिचार गरेको गरेको थिएँ । यो लेखको महत्व सम्पादकलाई बताउनुपर्छ भन्ने पनि लाग्यो र कुरेरै भेटेँ । त्यसबारे लामो व्याख्यान छाँटेर उनको हातमा राखिदिएँ ।

चिनापरिचयपछि कालो चिया खाँदै गफगाफ भएका थिए । सम्पादकले त्यहीँ मेरो लेख पढेर भने, ‘नयाँ विषय रै’छ । नेपालको सन्दर्भमा एकदमै काम लाग्ने अनुसन्धान रै’छ । माघ २ को सन्दर्भमा यो मिल्छ । अनुसन्धान गर्दा खिचिएका राम्रा तस्वीरहरु पनि ल्याइदिनूस् । मैले बिर्सन सक्छु, बीचमा एकपटक सम्झाउनुहोला ।’

गोरखापत्रका प्रधानसम्पादकले लेखको प्रशंसा गर्दा म फुरुङ्ग परेँ । फोटोहरु जम्मा गर्न केही दिन लाग्यो । माघ २ पनि अलि टाढा नै भएकाले हतार गर्नुपर्ने पनि थिएन । झण्डै २० दिनमा पूरा तयारीका साथ सम्पादकको कोठामा छिँरे । हौसिँदै सोफामा बसेर कुरा सुरु गरेँ ।

‘मैले भुकम्पसम्बन्धी एउटा लेख दिएको थिएँ ।’

‘ए अँ थाहा छ ।’

‘त्यही भएर आएको म ।’

‘किन र ?’

‘सरले यो लेखसँग सम्वन्धित फोटाहरु ल्याउन भन्नुभएको थियो’, टेवलमा फोटो राखिदिँदै भनें ।

‘लेख छाडेको ६ महिनासम्म कुर्ने । स्तरीय भए छापिन्छ । ६ महिनासम्म छापिएन भने अस्वीकृत भयो भन्ने बुझ्नुपर्छ भन्ने सूचना पढ्नुभा छैन ? मलाई लेख छाप्न दबाव दिन आ’को ?’

सम्पादक एक्कासी कड्किए । म त अवाक भएँ । बडो उत्साहका साथ सम्पादकको कक्षमा छिरेको थिएँ, पानी पानी हुँदै निस्किएँ ।

ठीक ६ महिनापछि ।

त्रिशुलबाबा भनिने यौटा ढोंगीको भविष्यवाणीले देशभर हल्लीखल्ली मच्चिएको थियो । उनले मिति र समय नै तोकेर भूकम्पले पृथ्वीको सत्यानाश गर्ने घोषणा गरेका थिए । समाजमा आतंक फैलाएको कसुरमा उनलाई प्रहरीले पक्राउ गर्‍यो । उनले तोकेको समयमा भूकम्प त आएन, तर भुकम्पको विषयमा चासो र चर्चा चल्न थालेको थियो ।

ठीक यही समयको एउटा शनिवार गोरखापत्रको परिशिष्टाङ्कमा भविष्यवाणी र भूकम्पको वास्तविकता’ नाममा एउटा लेख छापिएको देखेँ । त्यसमा मेरै नाम र तस्वीर थियो ।

सम्पादकले समसामयिक घटनाक्रमलाई एकाध हरफमा प्रसंग मिलाएर लेखलाई ताजा जस्तै बनाएर छापेका रहेछन् । लेखमा पलाएका अनावश्यक बोसो सम्पादन गरेर फालिएको थियो । लेख पढ्दा पुरानोजस्तो पटक्कै लागेन ।

केही दिनपछि सम्पादकलाई धन्यवाद दिन हिम्मत गरेर उनको कोठामा छिरेँ । मलाई थर्काउने सम्पादक सरुवा भएका रहेछन् । नयाँ सम्पादकले त्रिशुलबाबाको भविष्यवाणीबाट आतंकित जनतामा सही सूचना पुगोस् भनेर मेरो लेखलाई ताछतुछ पारेर छापेका रहेछन् ।

मलाई भेटेर नयाँ सम्पादक निकै खुसी भए । कार्यालयमा उपलब्ध हुने कालो चिया खुवाए, लेखिरहन भने । अनि गोरखापत्रमा मेरा सामायिक लेख, लघुकथा र गजल छापिए पनि । पछि मघुपर्कका सम्पादक हुँदा पनि उनले मेरा कथाहरु मागेरै छापे ।

मेरो पुरानो लेखलाई सामयिक बनाउने र पछि नियमित सामग्री छापिदिने सम्पादक थिए– वसन्तप्रकाश उपाध्याय ।

त्यही यौटा लगभग अस्वीकृत लेख कागताली परेर छापिँदा मलाई लेख्ने नयाँ हौसला भइरह्यो । त्यसको करिब १० वर्षपछि नेपालमा महाभूकम्पले ताण्डव मच्चायो अनि त्यस्ता लेखहरु धेरै छापिए ।

तुलसीहरि कोइराला, पुष्कर माथेमा र वसन्तप्रकाश उपाध्याय यस्ता सम्पादक हुन्, जसले कृष्ण कुसुम जस्ता अनेकन लेखक–साहित्यकार जन्माइरहेका छन् ।

–अनलाइनखबरबाट

टिप्पणी लेख्नुहोस्