निलम्बित एसपी विष्टलाई साढे १० लाख धरौटी बुझाउन आदेश
त्रिशुलीखबर
March 24, 2019


काठमाडौं, चैत १० । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीका निलम्बित एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले आदेश दिँदै दिलिपसिंह विष्टका दाइ खडक विष्टले दिएको यातनाविरुद्धको मुद्दामा ६ लाख रुपैयाँ धरौटी र निर्मलाकी आमा दुर्गादेवी पन्तले दिएको प्रमाण नष्टको मुद्दामा ४ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ ।

नगद वा बैंक ग्यारेन्टी धरौटीका रूपमा बुझाए डिल्लीराज विष्टलाई छोड्न र त्यसो गर्न नसके कारागार चलान गर्न आदेश भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् । यी मुद्दा ८ जना प्रहरी अधिकारीविरुद्ध परेका थिए ।

जसमा ६ जना धरौटीमा छुटिसकेका छन् भने डिल्लीराज विष्टको मुद्दामा आज आदेश आएको हो । डिएसपी अंगुर जिसी भने फरारको सूचीमा छन । यो मुद्दाको अन्तिम फैसला आउन बाँकी छ । निर्मलाको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । उक्त प्रकरणका दोषी अझै पत्ता लाग्न सकेका छैनन् ।

टिप्पणी लेख्नुहोस्