कमल थापाको गतिविधि अवान्छितः प्रधानमन्त्री ओली
त्रिशुलीखबर
March 24, 2019


काठमाडाैं, १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थपानाको एजेन्डा लिएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको गतिविधि अवान्छित भएको आरोप लगाएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘राजतन्त्रको माग गर्ने गतिविधि गर्नु वाञ्छनीय छैन,’ प्रधानमन्त्रीले भने, ‘राजतन्त्र-राजतन्त्र भनेर फट्याकफट्याक नगर्नु, रगत बगाएर ल्याएको हो गणतन्त्र ।’ प्रधानमन्त्री ओलीले राप्रपा र नेपाली कांग्रेसका केही नेताहरुले राजतन्त्रको पक्षमा जनमत संग्रह गर्नुपर्छ भन्दै आफै रैती बन्न माग गर्दै हिँडेको पनि आरोप लगाए ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजतन्त्रबारे जनमत संग्रह गर्न सकिने बताउँदै आएका छन् भने राप्रपा अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको पक्षमा आवाज उठाउँदै आएका छन् ।

यसबारे प्रधानमन्त्रीले भने, ‘आफुलाई लोकतान्त्रिक भन्ने मित्रहरुबाटै जनमत संग्रहका कुरा सुने । कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जनमत संग्रह गर्नुपर्छ भनेर हिँड्दा अचम्म लाग्छ । जोगीले फेरी लगाउँछ नि, फेरी लगाएर हिँड्याछ । अढाइ सय वर्ष पहिले कुनै विश्वविद्यालय थिएनन् होला । गोर्खाका घलेहरुले बुझेका थिए कुदेर प्रथम हुनुपर्छ । जन्मसिद्ध कोही पनि हुँदैनन् ।’

रैती हुन पाउँ भनी विन्ति बिसाएको देख्दा आफुलाई अचम्म लागेको प्रधानमन्त्री ओलीले बताए, ‘सचेत विश्वविद्यालय पढेकाहरु नागरिक भएकामा गर्व गर्न नसक्ने । रैतान हुन पाउँ भन्दै बिन्ति चढाएर हिँड्छन् ।’

नेपालमा प्रतिगमनको कुनै सम्भावना नभएको दाबी गर्दै प्रम ओलीले भने, ‘यो लोकतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो भिक्षामा पाएको होइन । यसको रक्षा नेपालीले गर्छ ।’

टिप्पणी लेख्नुहोस्