नख्खुमा विष्फोटमा संलग्न ४ जना पक्राउ
त्रिशुलीखबर
March 25, 2019


काठमाडौं, चैत ११ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले ललितपुरको नख्खुमा गराएको विष्फोटमा प्रत्यक्ष संलग्न ४ जना पक्राउ परेका छन् भने दुई जना अझै फरार छन् ।

एनसेल मुख्यालयमा विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा गएका ६ जना मध्ये ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार फागुन १० मा एनसेल मुख्यालय अगाडि विष्फोट हुनुअघि मोटरसाइकलमा हतियारसहित सवार व्यक्तिमध्ये ४ जना सूर्य भुजेल, डिकेन्द्र राई, रामृकष्ण खतिवडा र शिव धिमाल हुन् ।

भुजेल विप्लवका पूर्वअंगरक्षक हुन् । फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको छ । ‘उनीहरुको खोजीमा विशेष ब्युरोदेखि अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयहरुका टोलीसम्म खटिएको छ’, ती अधिकारीले भने, ‘चाँडै उनीहरुलाई पनि नियन्त्रणमा लिनेछौं ।’

सीसी टीभीमा देखिएअनुसार विष्फोट अघि ३ वटा मोटरसाइकलमा हतियारधारी एनसेल गेट छेउ आएका थिए । एउटा मोटरसाइकल गेट बन्द गर्न नमिल्ने गरी बसेको थियो भने दुई जना भित्र छिरेर रिसेप्सनमा प्रेसर कुकर बम राखिदिएका थिए ।

एक्कासि झोला छाडेर भागेको देखेका सुरक्षागार्डले बम राखिएको झोला बाहिर मिल्क्याएका थिए । तर, त्यसको केहीबेरमा एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी विष्फोट भएको थियो ।

टिप्पणी लेख्नुहोस्