धुलोमुक्त काठमाडौं बनाउन आज देखि पाँच वटा ब्रुमर संचालन
त्रिशुलीखबर
March 26, 2019


काठमाडौं, चैत १२ । सडक धुलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाकाले पाँच वटा ब्रुमर संचालनमा ल्याएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंको सडक धुलोमुक्त बनाउन इटालीबाट खरिद गरिएको नयाँ प्रविधिको पाँच वटा ब्रुमर संचालन कार्यको शुभारम्भ गरेका हुन । कार्यक्रममा प्रमुख शाक्यले काठमाडौंको सडकलाई धुलोमुक्त बनाउन सबैलाई साथ र सहयोग गर्न अपिल गरेका छन।

प्रमुख शाक्यले काठमाडौंको सडक धुलो र हिलोमुक्त बनाउन सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र वडा कार्यालयहरूसँग सहकार्य गरेर अघि बढने निर्णय गरिएको पनि जानकारी दिएका छन । १०७ किलोवाट क्षमता रहेको सो ब्रुमर सात लाख ६२ हजार ४७० युरोमा इटालीबाट खरिद गरिएको हो । त्यसमा रहेको ४ वटा ब्रसले सडकको धुलोलाई सफा गर्नेछ । ती पाँच वटा ब्रुमर तत्कालका लागि रातिको समयमा ८ घण्टा संचालन गरिनेछ । काठमाडौंको टेकुबाट ब्रुमर ५ वटा रुट भएर संचालन गरिनेछ ।

रुट नम्बर एक अन्तरगत टेकुबाट सूरु हुँदै सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धरा, नयाँ सडक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, महाराजगंज हुँदै जमल, घण्टाघर भद्रकाली हुँदै सुन्धारासम्म बु्रमर संचालन गरिनेछ । त्यसैगरी रुट नम्बर २ अन्तरगत टेकुबाट सिंहदरबार, पुतलीसडक, कमलादी, बालुवाटारलगायतका स्थानमा बु्रमर संचालन गरिनेछ ।

रुट नम्बर ३ अन्तरगत टेकूबाट कमल पोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, एयरपोर्ट, सिनामंगल, चावहिल रहेका छन । रुट नम्बर ४ अन्तरगत गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायतका स्थापनमा बु्रमर संचालन हुनेछ । रुट नम्बर ५ अन्तरगत टेकुबाट कलंकी, सितापाईला, बालाजु, ठमेललगायतका स्थापनामा पनि ब्रुमर संचालन हुने काठमाडौं महानगरपालिकाकाले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्