मृत्युपछि पनि अन्यायले नछोडेका एक हस्ती, गणेश पण्डित
प्रभुनारायण बस्नेत
March 27, 2019


प्रभुनारायण बस्नेत

भनिन्छ, मान्छेको सही मूल्याङ्कन उसको मृत्युपछि मात्र सम्भव हुन्छ । झट्ट सुन्दा यो कथन सत्य जस्तो लागे पनि यसलाई मूल्याङ्कन गर्ने सही तरिका मान्न सकिँदैन । कुनै पनि मानिसको मूल्याङ्कनको आधार उसको निष्ठा, इमानदारी, प्रतिबद्धता, सक्रियता, कार्यकुशलता हुनुपर्छ । मूल्याङ्कन गर्ने भनेको उसलाई जिम्मेवारी र अवसर प्रदान गर्नु, दायित्व सुम्पनु पनि हो । जुन मृत्युपश्चात् सम्भव हुँदैन । पार्टी र राजनीतिक जीवनमा त कार्यकर्ताको मूल्याङ्कन अझ कार्यक्षेत्रमै हुुनुपर्छ । अहिले नेपालका राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्ताको उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने परम्परा पूर्णरूपेण परित्याग गरिसकेका छन् । तिनले आफ्ना कार्यकर्तामाथि न्याय गर्न भुलिसकेका छन् ।

मृत्युपछि आर्यघाटमा उनलाई अन्तिम बिदाइ गर्न पुग्दा उनको शवमा पार्टी नेताले झण्डा ओढाउने कार्यक्रम रहेछ । आर्यघाट पुर्याउनु अघि उनको शव सत्तारुढ नेकपाको कार्यालयमा पनि रखियो । जीवनभरी पार्टी नेतृत्वबाट त्यत्रो अन्याय खेपेका र पार्टी सदस्यसमेत नरहेका पण्डितको शवलाई पार्टी कार्यालयमा राखिनु र नेताहरूले झण्डा ओढाउनु उनीमाथि मृत्युपछि भएको अर्को अन्याय हो ।

धेरै अघिदेखि सुरु भएको यो परम्परा अहिले उत्कर्षमा पुगिसकेको छ ।

कार्यकर्ताको राजनीतिक जीवन कुनै बहुलठ्ठी नेताको सनकमा निर्भर रहने चलन प्रजातन्त्रवादी खेमामा भन्दा कम्युनिस्ट खेमामा बढी छ । रुस र चीन जस्ता संसारकै ठूला कम्युनिस्ट पार्टीभित्र सत्ता स्वार्थको टक्करका कारण कैयौँ नेता कार्यकर्ताको राजनीतिक जीवन नै समाप्त पारिएका घटनाहरू बारम्बार चर्चामा आइरहन्छन् । खुला र प्रतिस्पर्धात्मक बाटो हिँडेका दलमा भन्दा गुप्त ढङ्गले सञ्चालितहरुमा यो रोग बढी देखिन्छ । नेपाली राजनीतिमा त यो रोग यति डरलाग्दो छ कि त्यसको प्रसङ्ग मात्रै कोट्यायो भने पनि रिँगाटा लाग्छ । यो दल विशेष वा समूह विशेषको मात्रै समस्या होइन, आम प्रवृत्तिको रूपमा रहेको छ । अन्तरपार्टी प्रजातन्त्रको अभावमा इमानदार, त्यागी, निष्ठावान, क्षमतावान, लोकप्रिय नेता–कार्यकर्ता, षड्यन्त्रकारीको कोपभाजनको शिकार बनेका कैयौँ उदाहरण हामीकहाँ छन् ।

पार्टी नेतृत्व हत्याउन होस् वा सत्ता सुख हासिल गर्न कोही नेता, कार्यकर्ता तगारो बन्दैछ भन्ने महशुस भयो भने साम, दाम, दण्ड, भेदका नीतिहरु अपनाएर उसलाई हटाउने कृत्य बारम्बार भएका छन् । त्यसका लागि कुनै ठोस कारण पनि चाहिँदैन । कुनै मनगढन्त आरोप लपगाएर आफ्नो बाटोको काँडा पन्छाउने कार्य हुन्छ ।

नामै किटेर कुनै राजनीतिक दलमाथि आक्षेप लगाउनु सायद बुद्धिमानी हुँदैन । तर, त्यस्तो कार्य इतिहासदेखि वर्तमानसम्म सबै दलमा हुँदै आएको छ ।

नेपाली काँग्रेस, कम्युनिस्ट पार्टी स्थापनाकालमै यो रोगबाट ग्रसित थिए । हालका एमाले, माओवादी, राप्रपा, फोरम, सद्भावना, पञ्चायतकालमा चौथो महाधिवेशन, मसाल, माले आदिमा त्यही प्रवृत्ति देखिन्छ । मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, सूर्यप्रसाद, गणेशमान, बीपी, पुष्पलाल, निर्मल लामा, मोहनविक्रम, बाबुराम भट्टराई, सीपी मैनाली आदि नेपाली राजनीतिका चर्चित पात्र पटक–पटक षड्यन्त्रकारीको निशानामा परिसकेका छन् । यस्ता अनगिन्ती अन्यायका घटनामा पर्नेमध्ये केहिले त मृत्युपछि पनि त्यस्तो अन्याय बेहोर्नुपरेको छ । हाम्रै इतिहासमा काजी भीम मल्ल, भीमसेन थापा र विश्वचर्चित रुसी नेता स्टालिनको प्रसङ्ग यहाँ स्मरणीय छ । ‘कू’का घटना संसारभरि पार्टी र सरकारभित्र हरपल घटिनै रहन्छन् । आजसम्म त्यसलाई रोक्ने संयन्त्र बन्न सकेको छैन ।

सन्दर्भ गणेश पण्डितकोः

उनको लोकप्रियता देशव्यापी नै थियो तर आफ्नै जिल्ला नुवाकोटमा भने त्यसको आयतन मापन गर्ननै नसकिनेस्तरमा थियो । उनको लोकप्रियताबाट पञ्च प्रशासकहरू मात्र होइन पञ्चायत इतरका काँग्रेस र मालेजस्ता प्रतिस्पर्धी समूह पनि अतिनै भयभित थिए ।

हालै हामीमाझबाट अस्ताए– गणेश पण्डित । उनको जीवन अन्याय नै अन्याय, षड्यन्त्र नै षडयन्त्र तथा धोकाले भरिएको छ । उनलाई मृत्युपछि पनि त्यसले पिछा छाडेन । आजका पुस्ताले उनको बारेमा धेरै थाहा नपाए पनि कुनै बेला उनी देशकै चर्चित व्यक्तित्व थिए । शिक्षा क्षेत्रलाई आधार बनाएर पञ्चायत ढाल्ने आन्दोलनमा उनले पुर्याएको योगदान कुनै स्वघोषित भूमिगत नेताको भन्दा कम छैन । विद्यार्थी जीवनदेखि बामपन्थी आन्दोलनमा जोडिएका पण्डित मरणोपरान्त त्यो आन्दोलनमा कुनै न कुनै रूपले जोडिरहे । तर उनी कुनै राजनीतिक पार्टीको ‘हार्डकोर’ कार्यकर्ता भने कहिल्यै भएनन् । त्यसमा स्वतन्त्र आकाशमा विचरण गर्ने उनको स्वभाव र अन्य केही प्राविधिक कारणहरू पनि रहे ।

एसएलसी परीक्षामा सर्वोत्कृष्ट १० स्थानमध्येमा परेका र विज्ञान विषय लिएर स्नातक गरेका पण्डित अवसर नपाएर जिल्ला फर्किएका थिएनन् । उनको सामाजिक, राजनीतिक परिवर्तनप्रतिको उत्कट चाहनाले त्यसो गराएको थियो । जिल्ला फर्केर शिक्षण पेशा अँगालेका पण्डितले आफ्नो विद्यालयलाई नमूना बनाए । शिक्षक आन्दोलनको नेतृत्व गरेर शिक्षा क्षेत्र र शिक्षकका पेसागत सुरक्षाको सङ्घर्षमा निरन्तर क्रियाशील रहे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका पण्डित वरिष्ठ उपाध्यक्ष रहेर काम गरे । उनले २०३८ को शिक्षक आन्दोलनको सम्पूर्ण नेतृत्व गरेका थिए र आन्दोलन तुहिने अवस्था आएपछि त्यसलाई उचित समयमा स्थगन गरी आन्दोलनलाई निकास दिएका थिए । त्यहाँ उनले आफ्नो नेतृत्वको क्षमता राम्ररी प्रदर्शन गरे । उनको लोकप्रियता देशव्यापी नै थियो तर आफ्नै जिल्ला नुवाकोटमा भने त्यसको आयतन मापन गर्ननै नसकिनेस्तरमा थियो । उनको लोकप्रियताबाट पञ्च प्रशासकहरू मात्र होइन पञ्चायत इतरका काँग्रेस र मालेजस्ता प्रतिस्पर्धी समूह पनि अतिनै भयभित थिए । त्यसैको परिणाम हो उनले बारम्बार गिरफ्तार परी जेलनेल, यातना भोग्नु परेको । यहाँसम्म कि उनीसँग कुनै सम्बन्ध नै नरहेको, उनले सपनामा पनि नसोचेको २०४२ सालको बमकाण्डमा फसाउन खोजियो । गिरफ्तार गरेर महिनौँ हनुमानढोका हिरासतमा राखियो र जेलमा कोचियो । त्यसपटक जेलबाट रिहा भएपछि उनले शिक्षण पेसा परित्याग गरी जनसेवामा समर्पित हुने निर्णय गरे ।

सङ्कीर्ण गुटगत संस्कारबाट मुक्त, निर्भीक, अन्तरआत्माको आवाज सुन्ने प्रवृत्तिका पण्डित चुनाव जिते पनि एमालेको झोले कार्यकर्ता बन्न सक्दैनथे र सकेनन् पनि । एमालेमा त्यसबेला चर्को गुटबन्दी थियो । त्यही बेला अमेरिकाबाट सांसदलाई आएको भ्रमणको निम्तोमा सभामुखले उनको नाम राखिदिए ।

उनी नेकपा चौम को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवार बने । उनलाई हराउन सारा राज्यशक्ति लाग्यो र पनि उनी निकटतम् प्रतिस्पर्धी रहे । यसबाट उनको लोकप्रियता कति हरेछ भन्ने थाहा पाउन सकिन्छ । राष्ट्रिय पञ्चायत सदस्यमा पराजित गराइएपछि र शिक्षण पेशा छाडेपछि एकैसाथ उनीमाथि अनेक समस्या आइलागे । उनको जागिर थिएन, कुनै भरपर्दो र नियमित आम्दानीको स्रोत थिएन । छोराछोरी सानै थिए । प्रशासनको गिद्देदृष्टि उनीमाथि हरदम थियो । घरखर्च, कोठाभाडा, छोराछोरीको पढार्इजस्ता दैनिक आवश्यकता टार्ने सवाल जतिनै आदर्शका कुरा गरे पनि जति नै सङ्घर्षशील भए पनि मुखरित बनेर खडा हुन्छ । यस्तो अवस्थामा पनि घरपरिवारका समस्या नटारी सुखै हुँदैन । त्यो पण्डितको जीवनको सबभन्दा कठिन समय थियो ।

दोस्रो उनको सम्बद्धताको सवाल । उनी शिक्षण पेशा, शिक्षक आन्दोलनबाट मुक्त भइसकेका थिए । शिक्षक आन्दोलन, राष्ट्रिय पञ्चायत सदस्य उम्मेदवार भएर पाएको प्रचार, पटक–पटकको जेल यात्राले उनको राष्ट्रिय व्यक्तित्व बनिसकेको थियो । जिल्लामा बसेर कुनै पार्टीको नेतृत्व नसम्हालेका उनलाई ठूला र क्रान्तिकारी भनिने पार्टीले केन्द्रीय नेताका रूपमा जिम्मेवारी दिने अवस्था पनि थिएन । यसले उनलाई केही स्वतन्त्रता बनाएको थियो तर राजनीतिक लाइन कमजोर भयो । त्यो वास्तविकता बुझेरनै निर्मल लामा नेतृत्वको नेकपा चौमले उनलाई अखिल नेपाल किसान सङ्घको नेतृत्वको जिम्मेवारी दियो । सङ्घका अध्यक्ष जयगोविन्द साह गम्भीर बिरामी भएर काम गर्न नसक्ने अवस्थामा थिए । अर्का नेता दिलबहादुर श्रेष्ठ पार्टी काममै बढी व्यस्त थिए । यस्तो अवस्थामा उनी किसान सङ्घको मूल नेतृत्वमा पुगे । त्यो बेला आन्दोलनको माहौल थियो । पञ्चायत विरोधी आन्दोलनले गति लिँदै गयो । पण्डित पनि पार्टी, किसान सङ्घ आदिमार्फत आन्दोलनमा सक्रिय रहे । २०४६ सालको आन्दोलन संयुक्तरुपमा सफल भयो । पञ्चायत ढल्यो । बहुदल आयो, त्यसपछि बामपन्थी समूहहरू एकजुट हुन थाले ।

बर्मा समूह, मानन्धर समूह र तुल्सीलाल समूहबीच एकीकरणको प्रसङ्ग उठ्यो । २०४८ को चुनाव लगत्तै तिनको एकता पनि भयो तर टिकेन । त्यसअघि माले र माक्सवादी मिलेर एमाले भइसकेको थियो । मोटो मसाल, चौम र रूपलाल समूह मिलेर एकता केन्द्र बन्ने कुरामा उहाँको विमति रह्यो । मसाल र रूपलाल समूह बाममोर्चामा थिएनन् । तिनीहरू क्रान्तिकारिताको नाममा जनताबीच गएर काम गर्ने, चुनाव लड्ने कुरालाई नकार्थे । चुनावमा भाग लिनेलाई दक्षिणपन्थी, संशोधनवादी भनेर गाली गर्थे । त्यस्तो चिन्तन बोकेका समूहसँग एकता गरेपछि पार्टी समाप्त हुन्छ भन्ने ठानेर उनी मनमोहन–साहनाको माक्र्सवादीमा सामेल हुने निर्णयमा पुगे । मालेसँग एकता गर्ने म्यान्डेट लिन पोखरामा भएको माक्र्सवादीको सम्मेलनमा सहभागी भए । लगत्तै माले–माक्र्सवादीबीच एकता भयो र एमाले बन्यो । पण्डित पनि एमालेनै भए ।

२०४८ सालको निर्वाचनमा उनलाई नुवाकोट क्षेत्र नं. २ बाट एमालेले टिकट दियो र उनले अत्यधिक मत ल्याएर चुनाव पनि जिते ।

२०५१ को मध्यावधि निर्वाचनमा पनि उनलाई एमालेले टिकट दिएन । त्यसपछि उनी पार्टी राजनीति छाडेर समाजसेवा, सांस्कृतिक–धार्मिक कार्य, अध्ययन चिन्तनमा बढी लागे ।

सङ्कीर्ण गुटगत संस्कारबाट मुक्त, निर्भीक, अन्तरआत्माको आवाज सुन्ने प्रवृत्तिका पण्डित चुनाव जिते पनि एमालेको झोले कार्यकर्ता बन्न सक्दैनथे र सकेनन् पनि । एमालेमा त्यसबेला चर्को गुटबन्दी थियो । त्यही बेला अमेरिकाबाट सांसदलाई आएको भ्रमणको निम्तोमा सभामुखले उनको नाम राखिदिए । पार्टीका अन्य नेताहरू पनि अमेरिका जान उत्सुक थिए । त्यतिबेला विदेश भ्रमणको अवसर नेताहरूलाई विरलै जुट्थ्यो । सभामुखकै कारणले अमेरिका गएका पण्डित र अर्का सांसद पर्वतका कृष्णप्रसाद भट्टराई पार्टी कारवाहीमा परे ।

उनीमाथि त राष्ट्रियसभा निर्वाचनमा पार्टीले तोकेको उम्मेदवारलाई भोट नहाली बागी जगत बोगटीलाई मत दिएको आरोप पनि लाग्यो । तर, त्यस चुनावको बेला उनी छोराको उपचारको क्रममा दिल्लीमा थिए । यसरी गलत आरोप लगाई कारवाही गरिएपछि उनी एमालेमा रहिरहन सम्भव भएन । २०५१ को मध्यावधि निर्वाचनमा पनि उनलाई एमालेले टिकट दिएन । त्यसपछि उनी पार्टी राजनीति छाडेर समाजसेवा, सांस्कृतिक–धार्मिक कार्य, अध्ययन चिन्तनमा बढी लागे ।

मृत्युअघिसम्म उनी कुनै दलको सदस्य थिएनन् । तर, मृत्यु लगत्तै नेकपाको नेताको पगरी ओढाइयो । मृत्यु हुनुभन्दा झण्डै तीन हप्ता पहिले उनीसँग मेरो बागबजारमा भेट भएको थियो । भेटमा सँगै चिया खाएका थियौँ । त्यसबेला उनले सामाजिक परिवर्तनका लागि कुनै सार्थक काम गरौँ, भेटौँ, छलफल गरौँ भन्ने प्रस्ताव राखेका थिए । मैले त्यसलाई सहर्ष स्वीकार गरेको थिएँ । तर, लगत्तै काठमाडौँ बाहिर जाने कार्यक्रम रहेका उनले फर्केपछि सम्पर्क गर्ने कुरा भने निष्ठुरी कालका कारण अधुरै रह्यो । उनीसँग जिउँदै भेट्न सकिएन ।

मृत्युपछि आर्यघाटमा उनलाई अन्तिम बिदाइ गर्न पुग्दा उनको शवमा पार्टी नेताले झण्डा ओढाउने कार्यक्रम रहेछ । आर्यघाट पुर्याउनु अघि उनको शव सत्तारुढ नेकपाको कार्यालयमा पनि रखियो । जीवनभरी पार्टी नेतृत्वबाट त्यत्रो अन्याय खेपेका र पार्टी सदस्यसमेत नरहेका पण्डितको शवलाई पार्टी कार्यालयमा राखिनु र नेताहरूले झण्डा ओढाउनु उनीमाथि मृत्युपछि भएको अर्को अन्याय हो ।

यो कुरा मैले नेता लिलामणि पोख्रेललाई त्यही भनें । उनले पण्डित पार्टी सदस्य नरहेको स्वीकार पनि गरे तर कम्युनिस्ट आन्दोलनप्रतिको उनको निष्ठाको प्रसङ्ग कोट्याएर त्यसलाई दलको झण्डाभन्दा आन्दोलनको झण्डाका रूपमा लिनुपर्ने तर्क राखे । त्यो तर्क मान्ने हो भने पनि ओली–प्रचण्ड झण्डा ओढाउने हकदार हुन कि होइनन् भन्ने प्रश्न उठाउन सकिन्छ ।

उनको मिलनसारिताका अघि जोकोही तनमस्तक बन्थे । मलाई लाग्छ, गणेश पण्डित जे सिद्धान्त, विचार र दर्शनका अनुयायी भए पनि उनी सबै विचारका अनुयायीको सम्मान गर्थे । उनका शत्रु यो धर्तीमा सायदै कोही थियो होला ।

भद्र, मिजासिला, शिष्ट, मर्यादित, अध्ययनशील, सबैको भलो चाहने, पण्डितसँग मेरो अत्यन्त निकट सम्बन्ध थियो, कुनै बेला । २०४२ सालमा भद्रबन्दी गृहमा उनले र मैले केही महिना एउटै भान्छामा खाना खायौँ । सँगै अध्ययन, छलफल चलायौँ । त्यहीबेला उनको व्यक्तित्व, उनको सिद्धान्त र निष्ठालाई मैले राम्ररी बुझ्ने अवसर पाएँ । उनी जिल्लामा कति लोकप्रिय थिए भन्ने भेटघाटमा आउनेको सङ्ख्या र उनलाई ल्याइदिने कोसेलीले पनि देखाउँथ्यो । २०४२ सालको एसएलसी परीक्षामा जेलबाट सामेल हुनेहरूले उनलाई चिट चोराउन अनुरोध गरे । उनले त्यसलाई ठाडै इन्कार गर्दै कोठामा सिक्न आए रात दिन नभनी सिकाइदिन तत्पर रहेको तर एउटा शिक्षकले परीक्षामा चिट चोराउनु अनैतिक कार्य हो, आफू त्यसो गर्न नसक्ने भनेर जवाफ दिए ।

२०४२–४३ सालतिर माले र चौमको बीचमा ‘पेपर वार’ चलेको थियो । पेपर वारमा निर्मल लामाले चुचुचाङ्गेका नामले र झलनाथ खनालले अभिमन्यूको नामले आ–आफ्ना प्रकाशनमार्फत बहस चलाउँथे । त्यसलाई कार्यकर्ताले सायद आपसी वैरभाव ठान्थे होलान् । त्यहीकारण त्यो बेला चौम र मालेको सम्बन्ध हार्दिक थिएन । त्यो बेला म भद्रगोल जेलमा थिएँ । हाम्रो मेसका कृष्णराज बर्मा, कमल चौलागाईं, हरि रोक्का आदि साथीहरू छुटेपछि रामसिंह रावल र म बाँकी मात्र रह्यौँ । दुईजनाको मेस चल्ने स्थिति नदेखेर रावल काँग्रेस मेसमा गए । भरत दाहालले भनेर म झापाली समूह ९माले०को मेसमा गएँ । तर, एकाध महिना नबित्दै एक दिन बेदुराम भुसालले बोलाएर भोलिदेखि आफ्नो मेसमा खाना खुवाउन नसक्ने बताए । यद्यपि मेस इन्चार्ज अमर अधिकारी थिए । उनले केही भनेका थिएनन् । मेस कमिटीको निर्णय भनेर भुसालले त्यो सूचना दिएपछि म अलपत्र पर्ने स्थिति आयो । हुन त मैले जहाँ गए पनि मेरै सिधा खाने हो तर एक्लैको मेस चलाउन धेरै कारणले असम्भव हुनेगर्छ । यस्तो स्थितिमा मैले कि एक्लै खानुपथ्र्यो कि त चौकीदारको मेसमा जानपथ्र्यो । भद्रगोल जेलमै रहेका र एक्लै भान्सा खडा गरेर खाँदै आएका पण्डितले बोलाएर र म उनीसँग एउटै मेसमा खान पुगेँ । घिउ, कुराउनी, फलफूलको भण्डार नै हुने उनको भान्सा मेरा लागि त्यहाँ बसिन्जेल प्रिय रह्यो । पछि रावल र मलाई पुर्जी थपेर नख्खु जेल लग्यो । पण्डित केही महिनापछि छुटेर राष्ट्रिय पञ्चायत निर्वाचन लडे । म जेलबाट छुटेपछि पनि पटक–पटक उनको बालाजु डेरामा गएँ । उनका ज्येष्ठ पुत्र राजकुमारसँग सँगै काम गरेँ ।

जेल पर्नुअघि खरानीटारको अमरज्योति माविमा पनि उनलाई भेटेको थिएँ । शिक्षक भरत लामिछानेको घरमा बस्ने खाने व्यवस्था उनैले मिलाई दिएका थिए । उनको मिलनसारिताका अघि जोकोही तनमस्तक बन्थे । मलाई लाग्छ, गणेश पण्डित जे सिद्धान्त, विचार र दर्शनका अनुयायी भए पनि उनी सबै विचारका अनुयायीको सम्मान गर्थे । उनका शत्रु यो धर्तीमा सायदै कोही थियो होला ।

–रातोपाटीबाट

टिप्पणी लेख्नुहोस्