लगानी सम्मेलनमा भारतीय प्रतिनिधित्व ‘एक निर्मम अपसगुन’
त्रिशुलीखबर
March 27, 2019


काठमाडौं, १३ चैत्र । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक विज्ञप्ती जारी गर्दै मार्च महिनामा हुने नेपाल लगानी सम्मेलन २०१९ मा भारतीय पक्षको संलग्नताप्रति ‘एक निर्मम अपसगुन’ भएको टिप्पणी गरेको छ । बुधबार मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले विज्ञप्ती जारी गर्दै सम्मेलन प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतको प्रतिबद्धता उत्साहजनक हुने तर कार्यान्वयन सधैँ निराशाजनक भएको दावीसहित नेपालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वास्तवमा भारतको ध्यान नेपालको विकास र समृद्धिमा होइन, कसरी नेपालको विकासलाई रोक्न सकिन्छ भन्नेमा छ । नेपालको पानी र जवानीमा उसको मुख्य चासो देखिन्छ । नेपालको जलस्रोतमा कब्जा जमाउने र पहाडका जवानहरूलाई भारतीय गोर्खा सेनामा भर्तीको निरन्तरतामा मात्र भारतको रुची र ध्यान छ ।’

सरकारले भने यस सम्मेलनलाई भव्य बनाउने र नेपालको आर्थिक विकासको ठोका खुल्ने दावी गर्दै आएको छ । १५ चैतबाट शुरु हुने लगानी सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले विगतका सम्मेलनको जगमा उभिएर विगतमा भएका उपलब्धिलाई अझ सुदृढ गर्दै प्रतिफल लिँदै कार्यान्वयनमा लैजाने गरी सम्मेलनको तयारी भएको बताएका थिए ।

मोर्चाका अध्यक्ष नेपाल भने केही समयअघि मात्र संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को बैठक जेनेभामा भाग लिएर फर्केका व्यक्ति हुन् । उनले त्यहाँ पनि नेपाली भूमिमाथिको भारतीय उपनिवेश दक्षिण एसियाको कलङ्कका रूपमा रहेको भन्दै चर्को विरोध गरेका थिए ।

नेपाली जनतासमक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक माफी नमागेसम्म भर्सना र विरोध गरिरहने भन्दै मोर्चाका अध्यक्ष नेपालले विज्ञप्तीमा भनेका छन्, ‘नेपालको ६० हजार वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गरेर स्वतन्त्रताको दुहाई दिने अनि भूकम्पको मारमा परेर तङ्ग्रिन नपाउँदै हामीमाथि नाकाबन्दी लगाएर मानवअधिकारको नारा दिने भारतको राक्षसी प्रवृत्तिको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा घोर भर्त्सना र विरोध गर्छ । यस किसिमको विरोधको क्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतासमक्ष औपचारिकरूपमा माफी नमागेसम्म मोर्चाले निरन्तर जारी राख्नेछ ।’

फोटो साभारः गुगल

पुरा विज्ञप्ती पढ्नुहोस्ः

यही मार्च महिनाको २९ र ३० तारिखमा नेपाल लगानी सम्मेलन २०१९ मा सहभागिता जनाउन भारतीय विदेश सचिव विजय गोखले काठमाडौँ आउने समाचारप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल लगानी सम्मेलन २०१९ नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने एउटा राम्रो अवसर हो । यस किसमको सम्मेलन नेपालको आर्थिक समृद्धिको द्वार खोल्न सहायक सिद्ध हुनेमा कुनै शङ्का छैन । तर, यसमा भारतीय प्रतिनिधित्व एक निर्मम अपसगुन मात्र हो । नेपालमा सरकारले वैदेशिक सहयोगका लागि दातृ सम्मेलन गरोस् वा वैदेशिक लगानीका निम्ति अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरोस्, त्यसमा भारतको प्रतिबद्धता उत्साहजनक हुने गर्छ तर त्यसको कार्यान्वयन सधैँ निराशाजनक । आफ्नो प्रतिबद्धता पूरा गर्नेतर्फ भारतीय पक्षको ध्यान कहिल्यै गएको देखिएको छैन । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पपछि काठमाडौंमा आयोजित दातृ सम्मेलनमा भारतले गरेको सहयोगको कार्यान्वयनको अवस्था दयनीय पाइएको छ । भारतीय सहयोगका विकास परियोजनाहरूको अवस्था पनि रुग्ण देखिन्छ ।

वास्तवमा भारतको ध्यान नेपालको विकास र समृद्धिमा होइन, कसरी नेपालको विकासलाई रोक्न सकिन्छ भन्नेमा छ । नेपालको पानी र जवानीमा उसको मुख्य चासो देखिन्छ । नेपालको जलस्रोतमा कब्जा जमाउने र पहाडका जवानहरूलाई भारतीय गोर्खा सेनामा भर्तीको निरन्तरतामा मात्र भारतको रुचि र ध्यान छ । आफ्नै पानी प्रयोगको हकबाट नेपाललाई भारतले वञ्चित गरेको तीतो यथार्थलाई आँखा चिम्लेर बिर्सन सकिँदैन । नेपाल गरिब रहेसम्म मात्र भारतले गोर्खा जबान पाउने हुँदा नेपाललाई सधैँ आर्थिकरूपमा जर्जर राखिरहनु सायद् भारतको बाध्यता हो । त्यसैले भारतले नेपाललाई सहयोग गर्ने कुरा एउटा प्रहसनबाहेक अरू केही होइन । अन्तर्राष्ट्रिय जगतका आँखामा छारो हाल्न सभासम्मेलनमा ठूलो धनराशीको सहयोग घोषणा गर्ने र कार्यान्वयनमा दिलचस्पी नराख्ने भारतीय प्रवृत्तिको सिकार भएका नेपालीहरू भारतले नेपाललाई कुनै दिन साँच्चै सहयोग गर्ला भनेर अलिकति पनि विश्वस्त छैनन् । अतः नेपाल लगानी सम्मेलन २०१९ मा भारतीय विदेश सचिव विजय गोखलेको नेपाल आगमन हुने कुराले हामीलाई खुसी भन्दा बढ्ता पीडा नै दिनेछ । त्यसैले उनको काठमाडौँ बसाइ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका दृष्टिमा नरुचाइएको पाहुनाजस्तो मात्र हो । जहाँ पाहुनाले सम्मानको अनुभूति गर्न पाउँदैन त्यहाँ जानु भनेको ‘मान् कि नमान् म तेरो मेहमान’ भनेजस्तै हो ।

नेपालको ६० हजार वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गरेर स्वतन्त्रताको दुहाइ दिने अनि भूकम्पको मारमा परेर तङ्ग्रिन नपाउँदै हामीमाथि नाकाबन्दी लगाएर मानवअधिकारको नारा दिने भारतको राक्षसी प्रवृत्तिको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा घोर भर्त्सना र विरोध गर्दछ । यस किसिमको विरोधको क्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतासमक्ष औपचारिकरूपमा माफी नमागेसम्म मोर्चाले निरन्तर जारी राख्नेछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७५। १२। १३

टिप्पणी लेख्नुहोस्