प्रदेश तीन सरकारले हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग गराउने
त्रिशुलीखबर
April 2, 2019


काठमाडौं, चैत १९ : प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ।

प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाको विभिन्न स्थानको आइतबार मन्त्रीसहितको टोलीले निरीक्षण समेत गरेको थियो। मंगलबार बिहानै बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले समेत तीनदिन बराबरको सांसद्को तलब बापत्को रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय भएको छ।

 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको निर्णय मंगलबार विहान बस्ने प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार लामाले जानकारी गराउने कार्यक्रम रहेको मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्