प्रधानमन्त्री ओलीको गृहनगरमा २ अर्बको भ्यु टावर !
त्रिशुलीखबर
April 16, 2019


काठमाडौं, २ वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्रीको गृह जिल्ला झापाको दमक नगरपालिकामा २ अर्बको भ्यु टावर बनाउने भएको छ। सरकारले दमकको भ्यु टावरलाई संघीय संसद भवन निर्माणजस्तै ‘महत्वपूर्ण प्राथमिकताका कार्यक्रमहरु’ को सूचीअन्तर्गत राखेको छ।

स्थानीय तह र प्रदेश सरकारले अति आवश्यक पूर्वाधारहरुमा बजेट नपाएको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीकै रहरमा दमकमा अर्बौं खर्चेर भ्यु टावर बनाउन लागिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्। प्रधानमन्त्रीको चुनाव क्षेत्रमा यो भ्यु टावर दुई वर्षभित्रमा बनिसक्ने छ।

दमकमा २ अर्ब खर्च गरेर भ्यु टावर बनाउनुको साटो गरिब जनताको आवासमा रकम खर्च गरिनुपर्ने सरकारकै अन्य मन्त्रीको सुझावलाई लत्याउँदै उच्चपदस्थ सरकारी कर्मचारीहरु प्रधानमन्त्री ओलीलाई खुशी पार्न भ्यु टावरको डिजाइनमा लागेको मन्त्रालय स्रोतको भनाइ छ।

प्रस्तावित भ्यु टावरको डिजाइन तयार भइसकेको र अब टेण्डर आह्वान हुन लागेको शहरी विकास मन्त्रालयले जनाएको छ। ०७५ फागुन मसान्तदेखि निर्माण सुरु गर्ने भनिए पनि ०७६ साल लागिसकेको छ। यो भ्यु टावर ०७८ साल फागुन मसान्तभित्र बनाइ सक्ने केन्द्रीय सरकारको योजना छ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओली दमक भ्यु टावर स्थानीय तहको कार्यक्रम वा योजनाअन्तर्गत नभई शहरी विकास मन्त्रालय, सिंहदरबारको योजना अन्तर्गत बन्न लागेको बताउँछन्। नगरप्रमुख ओलीले भने,‘यो माथि शहरी विकास मन्त्रालयअन्तर्गतकै योजना हो, यसमा दमक नगरपालिकाको लगानी छैन।’

फुर्मासी खर्चः अर्थविद् रामेश्वर खनाल

अर्थविद् रामेश्वर खनाल अर्बौं रुपैयाँ खर्च गरेर भ्यु टावर बनाउने सरकारी निर्णय ठीक नभएको बताउँछन्। यस्तो खर्च ‘फुर्मासी खर्च’ भएको खनालको दावी छ। भ्यु टावरभन्दा पहिले रोजगारमूलक उद्योगहरु स्थापना गर्नतर्फ सरकारको ध्यान जानुपर्ने खनालले सुझाव दिएका छन्। ‘हामीलाई चाहिएको उद्योग हो, कृषकहरुले चाहेका कुराहरु सहजै पाउन सकेका छैनन् । नेपालमा प्रशोधनमूलक उद्योगहरुको आवश्यकता छ,’ पूर्वअर्थसचिव समेत रहेका खनालले भने, ‘प्रशोधनमूलक उद्योगहरु स्थापना हुने हो भने किसानलाई धेरै राहत हुने थियो, किसानहरुले सही मूल्य पाउने थिए।’

देशमा डेरी उद्योग, चिनी उद्योगलगायतका उद्योग स्थापनामा सरकारले जोड दिनुपर्ने सुझाव दिँदै खनालले भने, ‘खासगरी डेरी, चिनी उद्योगहरुको आवश्यकता छ । त्यसो गर्न सके किसानले कर्णाली तथा उत्तरी क्षेत्रमा उत्पादित वस्तुहरुको राम्रो मूल्य लिन पाउँथे। सरकारको लगानी जानुपर्ने खासगरी यस्ता क्षेत्रहरु हुन्।’ मुलुकमा बढ्दो बेरोजगारीपनलाई ध्यान दिएर त्यस्ता क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार नचाहिने क्षेत्रमा लगानी गरेको खनालको आरोप छ।

उनी भन्छन्– ‘हामीसँग पैसा फालाफाल गर्न सक्ने क्षमता त छैन। पैसा फालाफाल भए पो यस्ता टावर लगायतमा लगानी गर्नु।’

एक अर्ब थपे मेडिकल कलेज खोल्न सकिनेः डा. केसी

यसैवीच सामाजिक अभियन्ता डा. गोविन्द केसीले यसअघि नै इलाममा अनसन बस्न जाने बेलामा आयोजित पत्रकार सम्मेलनमा दमक भ्यु टावरका विषयमा कडा प्रतिक्रिया दिएका थिए। डा. केसीले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै भनेका थिए– ‘साम्यवादी नेताको त्यो प्राथमिकता हो ? पुँजीवादी देशका क्रोनी क्यापिटालिस्टले पनि लाज मान्छन् यस्तो गर्न।’

आफ्नो चुनावी क्षेत्रमा यसरी भ्यु टावर ठड्याउनुभन्दा त्यसमा एक अर्ब थप्ने हो भने ओलीकै क्षेत्रमा मेडिकल कलेज खोल्न सकिने डा. केसीको भनाइ छ। डा. केसीले त्यसबेला भनेका थिए– ‘ओलीजीले चाहिँ उनको क्षेत्रमा एउटा भ्यु टावर खोल्ने रे ! टिस्टासम्म देखिने भ्यु टावर रे ! त्यसमा एक अर्ब थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ।’

टिप्पणी लेख्नुहोस्