समृद्धि सरकारको उपहारः कर छलीमा मुद्दा खेपेका भाटभटेनीका साहुलाई सुप्रवल जनसेवा श्री पदक !
त्रिशुलीखबर
April 16, 2019


काठमाडौं, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सुप्रवल जनसेवा श्री पदक ग्रहण गरेका भाटभटेनीका साहु कर छली काण्डमा मुछिएका व्यक्ति हुन् । नयाँ वर्षको दिन राष्ट्रपति भण्डारीले देशका लागि महत्वपूर्ण योगदान गरेको भन्दै विभिन्न व्यक्तिलाई मानपदवी र सम्मान प्रदान गर्ने क्रममा भाटभटेनीका साहु पनि छनौटमा परेका थिए । ९६ जनाले राष्ट्रपति भण्डारीको हातबाट सुप्रवल जनसेवा श्री पदक थापेका मध्ये एक तिनै साहु मिनबहादुर गुरुङ थिए ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरूङलाई व्यवसायिक क्षेत्रमा योगदान गरेवापत राष्ट्रपतिले पदक दिएकी हुन् ।

राष्ट्रपतिले व्यवसायिक क्षेत्रमा योगदान गरेको भनेर पदक दिएका गुरूङलाई सरकारले भने भ्याट कर छली गर्ने व्यापारीको सूचीमा राखेको छ । राजश्व न्यायाधीकरणले समेत उनलाई कर छलीमा दोषी ठहर गरिसकेको छ ।

गुरूङको मुद्दा २०६६ सालदेखि सुरू भएको हो । आन्तरिक राजस्व विभागले त्यसबेला विभिन्न व्यापारिक घरानाले कति कर छलेका छन् भनेर छानबिन गरेको थियो । भाटभटेनी सुपरमार्केटले नक्कली बिल बनाएर ९ करोड भ्याट छलेको भन्दै रकम तिर्न विभागले भनेको थियो । आयात नै नगरी नक्कली बिल बनाएर भ्याट छलेको भन्दै विभागले कर, त्यसको साँवाब्याज र जरिवानासमेत तिर्न पत्र पठाएको थियो । उक्त पत्रविरूद्ध विभागका महानिर्देशक समक्ष भाटभटेनीका सञ्चालक गुरूङले पुनरावेदन दिए । महानिर्देशकले पनि उक्त कर तिर्नैपर्ने निर्णय सुनाए । गुरूङले महानिर्देशकको निर्णयविरूद्ध राजश्व न्यायाधीकरणमा मुद्दा हाले । न्यायाधीकरणले पनि गुरूङलाई नै दोषी ठहर्‍यायो ।

उनी फेरि न्यायाधीकरणको फैसला खारेज गर्न र उनलाई कर नतिराउन भन्दै सर्वोच्च अदालत गए । २०७३ सालदेखि गुरूङको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।

पछिल्लोसमय गुरूङमाथि बालुवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिबाट आफ्नो नाममा किनेको आरोप पनि छ । सो जग्गा सरकारका नाममा ल्याउन फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ । सो जग्गा अपचलन गर्ने गुरूङलगायतमाथि छानबिन गर्न मन्त्रिपरिषदले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०लाई निर्देशन दिइसकेको छ ।

टिप्पणी लेख्नुहोस्