८ सय वर्ष पूरानो आफ्नो सम्पदा जलेको पेरिसवासीले लामवद्ध बनेर हेरे
त्रिशुलीखबर
April 16, 2019


एजेन्सी पेरिस, ३ वैशाख । फ्रान्सको पेरिस जाने पर्यटकले दुइवटा कुरा छुटाउँदैनन् । एउटा हो, आइफेल टावर र अर्को नोट्र ड्याम । तीमध्ये अब एउटा गन्तव्य ‘मिस’ हुनेछ ।

मध्यकालिन फ्रान्सको वैवभका रूपमा रहेको नोट्र ड्याम अर्थात् आवर लेडी अफ पेरिस सोमबार राती लागेको आगोले खरानी भएको छ ।

युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमबार साँझ स्थानीय समयअनुसार पौने सात बजे आगो लागेको थियो । फ्रान्सको गोथिक आर्किटेक्चरको नमूना मानिने उक्त क्याथोलिक क्याथेड्रलमा लागेको आगो निभाउन ४०० अग्निनियन्त्रकलाई झन्डै आठ घन्टा लाग्यो । सन् ११६० मा काम सुरू गरेर १२६० मा तयार भएको ८ सय वर्ष पूरानो आफ्नो सम्पदा जलेको हजारौं पेरिसवासीले लामवद्ध बनेर हेरे । तीमध्ये धेरैका आँखामा आँशु छचल्कियो ।

आगो नियन्त्रण गर्ने क्रममा एक जना अग्निनियन्त्रक घाइते भएको बताइएको छ । के कारणले आगो लाग्यो भन्ने कुरा भने खुल्न सकेको छैन ।

राष्ट्रपति इमान्युल म्याक्रों देशवासीका नाममा गर्न लागेको सम्बोधन स्थगित गरेर घटनास्थल पुगेका थिए । उनले आफ्नो सरकारले नोट्र ड्यामको पुनर्निर्माणलाई अभियानको रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि उनले फ्रान्सभित्र र बाहिर रहेका फ्रान्सेलीहरूमा सहयोगको अपिल गरेका छन् ।

गुसीलगायतका ब्रान्डको उत्पादक केरिङका प्रमुख कार्यकारी अधिकृतले ११३ मिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

नोट्र ड्याम जल्दा संसारभरका नेताहरूले फ्रान्सलाई समवेदना पठाइ रहेका छन् ।

जर्मन चान्सलर एन्केला मर्केलले नोट्र ड्याम फ्रान्स र पूरै युरोपको साँस्कृतिक प्रतिक भएको बताएकी छन् । बेलायती प्रधानमन्त्री थेरेसा मेले फ्रान्सेली नागरिकमा समवेदना व्यक्त गरेकी छन् । भ्याटिकन सिटीले फ्रान्स र विश्वभरि नै क्रिश्चियानिटीको प्रतिकमाथिको आगलागीले दुखित र भावविह्वल भएको जनाएको छ ।

टिप्पणी लेख्नुहोस्