रेडियो नेपालले लुकाएको एउटा गीत, ‘निष्ठुरीलाई माया गरी…’
त्रिशुलीखबर
April 20, 2019


गायक मुरलीधर


काठमाडौं । नेपाली शास्त्रीय संगीतमा बेग्लै योगदान दिएका गायक मुरलीधरले ‘निष्ठुरीलाई माया गरी’ बोलको गीत राजेशपायल राईको नभई आफ्नो गीत भएको बताएका छन् । तर, आफ्नो नामको त्यो गीत रेडियो नेपालले लुकाएको आरोप पनि उनले लगाएका छन् ।

राजेशपायल राईले ‘दाई गल्ती भयो’ भन्दै माफी मागेको पनि गायक मुरलीधरले बताए । मञ्चमा गाउँछु भनेर मागेको गीत राईले रेकर्ड गरेको मुरलीधरको आरोप छ ।

मुरलीधर –एउटा राम्रो अभिनेता मात्र होइनन्, राम्रा गायक पनि हुन् । ‘उडायो सपना सबै हुरीले’ यो गीत नसुन्ने र नगुनगुनाउने सायदै कोही नेपाली होलान् । बलिउडमा समेत स्थापित यो गीत गायक, कलाकार मुरलीधर मिजारले गाएका हुन् ।

सिराहाको सामान्य परिवारमा जन्मिएका मुरलीधरले आफ्ना पिताबाट संगीतको कखरा सिके र मुम्बईबाट संगीतमा बी. म्युजिक गरे । लगभग उदित नारायण र डेनी डेङजोङपासँगैका मुरलीधर बलिउडको दौडमा उनीहरू जति कुद्न नसकेपनि आफ्नो छुट्टै परिचय भएका कलाकार हुन् ।

थुप्रै नेपाली र हिन्दी चलचित्रमा अभिनय गरेका तथा आफ्नो स्वरबाट पनि परिचित गायक मुरलीधरको ‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’, ‘चिसो चिसो सिरेटोमा’, ‘तिम्रो आँखाको भाका’ जस्ता थुप्रै चर्चित गीतहरू छन् । उनले लगभग डेढ सय जति नेपाली गीत गाएका छन् भने हिन्दी, मैथिली र भोजपुरी गीतहरू पनि थुप्रै गाएका छन् ।

कयौं भोजपुरी र मैथिली फिल्म बनाएका मुरलीधरले हिन्दी फिल्म ‘हम आजाद है’ र ‘मिस्टर इन्डिया’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन् । यस्तै नेपाली चलचित्रमा साइनो, कन्यादान, पिरती, सम्झनालगायत पछिल्लो समय निखिल उप्रेतीको भैरवमा पनि उनले अभिनय गरेका छन् ।

टिप्पणी लेख्नुहोस्