राजतन्त्रले हारेको र जनताले नजितेको दिन !
त्रिशुलीखबर
April 24, 2019


काठमाडौं, ११ वैशाख । आज देशभर १४ औं लोकतन्त्र दिवस मनाइँदै छ । २०६२–६३ मा राजशाहीलाई घुडा टेकाउन बाध्य गराउने गरी तात्कालीन सात राजनैतिक दल र जनयुद्धरत माओवादीद्वारा संचालित संयुक्त जनआन्दोलन सफल भएको आजैका दिन थियो । जनआन्दोलनको बलद्वारा नेपालमा राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापित भएको भन्दै आजको दिनलाई विशेष रूपमा सम्झने गरिन्छ ।

तात्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । सशस्त्र युद्ध गरिरहेको माओवादी र सात राजनीतिक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने आन्दोलनले आजकै दिन राजतन्त्रको अन्त्य गरेको थियो । यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति प्रक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको नेपाली राजनीतिमा विशेष महत्व रहेको छ ।

लोकतन्त्र स्थापनाको चौध बर्षमा संविधानको निर्माण, गणतन्त्रको घोषणा, संघीय, समावेशी र समानुपातिकको व्यवस्था भएका छन् । परिवर्तन संस्थागत भए पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुन नसक्दा जनताले परिवर्तन महसुस गर्न नसकेको गुनासो गर्ने गरेका छन् । राजाको हातबाट सत्ता खोसेका जनताको आँखामा रहेको सपना निराशामा परिणत हुन थालेको छ । जनताको बलिदानबाट प्राप्त लोकतन्त्र नेता, तिनका आसेपासे तथा सिमित कार्यकर्ताको स्वार्थपूर्तिको माध्यम मात्रै बन्ने दिशातर्फ अघि बढेको छ । जनतामा छाएको निराशालाई बेलैमा चिर्न नसक्ने हो भने लोकतन्त्रको भविष्यमाथि नै कालो बादल नमडारिएला भन्न सकिँदैन ।

अझैपनि सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता छानबिन आयोगमार्फत माओवादी द्वन्द्वका घाउमा मलम लगाउने र युद्धकालमा लुटिएका नागरिकका घरजग्गा फिर्ता तथा द्वन्द्व पीडितको पुनर्स्थापना जस्ता काम हुन सकेका छैनन् । दलहरूबीच बेमेलको अवस्था छ । पूर्वराजा ज्ञानेन्द्र आफ्नो गुमेको विरासत फर्काउने अभियानमा तल्लिन छन् । उनलाई राप्रपालगायतका दल र संगठनले साथ दिएका छन् ।

खासगरी नेपाली राजनीतिक वृत्तमा व्यवस्था परिवर्तनबाट नेतृत्वको जीवनस्तर निक्कै माथि उठेको र आम नागरिकको जीवनस्तर २०६२–६३ भन्दा भिन्न नहुँदा लोकतन्त्रप्रति नै आमधारणा राम्रो बनेको छैन । देशभित्र देखिएका विकृति, विसंगति, असमानता, न्याय, अधिकारको पक्षमा जनमत बनाएका तात्कालीन राजनीतिक दलको उद्देश्य अनुरूप गति र संवेग पैदा नहुँदा तीनका प्रतिवद्धताहरू मतदाताका लागि झुट्टा पुलिन्दा मात्र सिद्ध भएका छन् । अहिले आम जनमानसमा राजनीतिक दल, नेता र तिनका कार्यकर्ता भनेका अवसर नपाउँदा जनतामा आशा भर्ने र अवसर आएपछि जनतालाई निराश बनाउन उद्धत् समूह हुन् भन्ने पर्न थालेको छ ।

गणतान्त्रिक व्यवस्थामा जनता शक्तिशाली र समृद्ध बन्नुपर्ने भन्ने आममानिसको धारणा विपरित सत्ता संरचनाहरू संचालित हुँदा र जनभावना अनुरूप सरकार नचल्दा जनता विरक्तिनु स्वभाविक प्रकृया जस्तै हुन थालेको छ । यसैको परिणाममा तात्कालीन राजतन्त्र समाप्त भए झैँ ‘गणतन्त्रपनि दिगो बन्ला ?’ भन्ने संसय पैदा हुन थाल्नु आजको लोकतन्त्र दिवसको सन्दर्भमा सगुन पक्कै होइन ।

टिप्पणी लेख्नुहोस्