भारतीय सेनाद्वारा नेपालमा हिममानव ‘यति’को पाइला भेटिएको दावी !
त्रिशुलीखबर
April 30, 2019


भारतीय सेनाले जारी गरेको रहस्यमय हिममानव ‘यति’ को पाइलाको तस्वीर

काठमाडौँ, १७ वैशाख । नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को पाइला भेटिएको दाबी भारतीय सेनाले गरेको छ ।

आफ्नो पर्वतारोहण टिमले यतिको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो । विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको तस्वीरहरु पोष्ट गरिएको छ । भारतीय सेनाको दाबी छ, मकालु-बरुण राष्ट्रिय निकुञ्जमा यति देखिएको थियो ।

भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यति’ को पदचिन्हको लम्बाई २.६ फिट रहेको उसले जनाएको छ । फुटस्टेप भन्नाले सामान्य हिँडाईमा दुई वटा पदचिन्हबीचको दुरीलाई जनाउँछ । एउटा वयस्क व्यक्तिको फुटस्टेप औसत २.५ फिट हुन्छ ।

यतिको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतिको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो । वैज्ञानिकहरुले भने यतिको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।

टिप्पणी लेख्नुहोस्